‘राधा’को श्यामश्वेत संस्करण निफ फिल्म फेस्टिभलमा प्रिमियर हुँदै - Crazysaptahik.com

‘राधा’को श्यामश्वेत संस्करण निफ फिल्म फेस्टिभलमा प्रिमियर हुँदै

सुवर्ण थापा निर्देशित सोसल ड्रामा फिल्म राधाको श्यामश्वेत संस्करण नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा प्रिमियर हुने भएको छ । हलमा रिलिज भएको भन्दा छोटो र ‘डाइरेक्टर कट’लाई दर्शकले निफमा हेर्न पाउने भएका छन् ।सौगात मल्ल र देवकी विष्टले निर्माण गरेको यो फिल्मलाई छायांकनकै क्रममा रंगीन र श्यामश्वेत दुई संस्करणमा खिचिएको थियो ।

फिल्मको श्यामश्वेत संस्करण प्रदर्शन हुने निर्देशक थापाले जानकारी दिए । हल रिलिजको बेला १ घण्टा ५० मिनेट लम्बाइ रहेपनि श्यामश्वेत संस्करण चाहिं १ घण्टा ३५ मिनेट रहेको छ । राधाले निफसँगै फेस्टिभलको अन्तर्राष्ट्रिय यात्रा थालेको छ । ‘दर्शकले फेस्टिभलमा डाइरेक्टर कट्लाई हेर्न पाउनुहुनेछ,’ निर्देशक थापाले  भने ।

आगामी शनिबार क्यूएफएक्सको सिभिल मल मल्टिप्लेक्समा दर्शकले यो फिल्मलाई हेर्न पाउने भएका छन् । यस वर्षको सुरुवातमा रिलिज भएको यो फिल्मलाई पर्याप्त शो नदिइएको भन्दै रिलिजको दुई दिनमै निर्माताले हलबाट उतारेका थिए ।

जसले गर्दा अधिकांश दर्शक यो फिल्म हेर्नबाट बञ्चित रहे तर समीक्षकले फिल्मलाई रुचाएका थिए ।पूर्वमिस नेपाल समेत रहेकी अभिनेत्री सृष्टि श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्मले पतिको खोजीमा निस्किएकी पत्नीको कथा भन्छ । निफ फिल्म फेस्टिभल चैत २ गतेदेखि सुरु हुँदैछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.