वैशाख १ देखि फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने - Crazysaptahik.com

वैशाख १ देखि फिल्म र म्युजिक भिडियोका डान्सरको पारिश्रमिक बढ्ने

वैशाख १ गतेदेखि लागु हुनेगरी फिल्म, म्युजिक भिडियो र लोकदोहोरीका नृत्य कलाकारको पारिश्रमिकमा वृद्धि हुने भएको छ । गत साता बसेको चलचित्र नृत्य संघको बैठकले पारिश्रमिकको नयाँ दर तोक्ने निर्णय गरेको अध्यक्ष जनक कार्कीले जानकारी दिए ।

जसअनुसार फिल्म (भाषाभाषीसहित)मा नृत्य गर्ने व्यक्तिले प्रतिदिन तीन हजार, दुई दिनमा छायांकन सकिएमा पाँच हजार र तेस्रो दिनमा सकिएमा ६ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

म्युजिक भिडियोको हकमा लोकपप, आधुनिक, भाषाभाषी सबैखाले गीतमा नृत्य गरेबापत एक दिनको दुई हजार रुपैयाँ र विदेशी फिल्मको हकमा प्रतिदिन तीन हजार रुपैयाँ पारिश्रमिक कायम गरिएको छ ।

‘वर्तमान समयको बजारभाउ, रासनपानी, महंगीलगायतलाई ध्यानमा राखेर पारिश्रमिक वृद्धिको निर्णय गरेका हौं,’ अध्यक्ष कार्कीले भने, ‘दुई वर्षसम्म यही रेट कायम रहन्छ र त्यसपछि सिफ्ट सिस्टममा अघि बढ्ने तयारी छ ।’ सिफ्ट सिस्टमअनुसार काम गर्नेले राति १० बजेपछि अतिरिक्त ५० प्रतिशत पारिश्रमिक पाउने उनले जानकारी दिए ।

‘तत्काललाई सिफ्ट सिस्टममा अघि बढ्दा निर्मातालाई आर्थिक भार पर्ने देखियो,’ कार्कीले भने, ‘दुई वर्षसम्म यही पारिश्रमिकअनुसार कायम रहन्छौं ।’ नयाँवर्षदेखि अनिवार्य रुपमा यो निर्णय लागु गर्ने जानकारी आफूहरुले चलचित्र निर्माता संघ, निर्देशक समाज र प्राविधिक संघलाई दिएको उनले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.