‘पशुपतिप्रसाद २’ को छायांकन लम्बिंदा बढ्यो बजेट - Crazysaptahik.com

‘पशुपतिप्रसाद २’ को छायांकन लम्बिंदा बढ्यो बजेट

फिल्म ‘पशुपतिप्रसाद २ : भष्मे डन’को छायांकन अझै एक महिना लम्बिने भएको छ । निर्देशक दीपेन्द्र के खनालले सिंक साउण्डमा काम गर्नुपर्ने भएकाले फिल्मको छायांकन अझै एक महिनाभन्दा बढी समय चल्ने बताए । छायांकन सुरु भएको बुधबार ३५ दिन नाघेको छ ।

छायांकन लम्बिएसँगै बजेटमा पनि भारी वृद्धि भएको छ । बजेट बढेर साढे तीन करोड पुग्ने प्रक्षेपण गरिएको निर्देशक खनालले बताए । ‘बजेट साढे तीन करोड आसपास पुग्ने देखियो ।

सिंक साउण्डमा मेहनत गर्नुपर्ने भएकाले सुटिङमा पनि ढिलो हुने देखियो,’ उनले भने, ‘पहिलोपटक नेपाली फिल्ममा पूरै फिल्मलाई सिंक साउण्ड तुल्याउन लागेका छौं ।’ दीपेन्द्रले ‘पशुपतिप्रसाद’को छायांकन ३५ दिनमा सकाउँदा ८७ लाख रुपैयाँ खर्च भएको थियो ।

यसपटक बजेट किन बढ्यो त ? ‘यसपटक लार्ज क्यानभासमा फिल्म खिच्दा स्वभाविक रुपमा बजेट त बढ्ने नै भयो, यसबाहेक ध्वनिमा पनि मेहनत गर्नुपरेको छ,’ उनी भन्छन् ।

यतिबेला सौगात मल्लको भागको छायांकन भइरहेको छ ।फिल्मको शीर्ष भूमिकामा विपिन कार्की छन् भने स्वस्तिमा खड्का पनि महत्वपूर्ण भूमिकामा छिन् ।

आँचल शर्माले एक गीतमा अभिनय गरेकी छन्, जसको छायांकन भइसकेको छ । खगेन्द्र लामिछानेको निर्माण तथा लेखन रहेको फिल्मलाई आगामी दशैंमा प्रदर्शन गर्ने योजना छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Crazysaptahik.com.