इटहरी । पाहुना टोली डुफिन्स फुटबल क्लब क्यामरुनलाई टाइबेकरमा हराँउदै झापाको काँकडभिट्टा फुटबल ट्रेनिंग सेन्टर इटहरीमा शनिबारबाट सुरु भएको मदन भण्डारी स्मृति अन्तराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
९० मिनेटको निर्धारित समयमा दुवै तर्फबाट गोल नभएको खेलमा काँकड्भिट्टाले पेनाल्टी सुट आउटमा ४–३ ले जित निकाल्यो । मेची नेत्रालयले थी स्टारबाट ब्यवसायिक फुटबल खेलेका धराने फुटबल खेलाडी निराजन खड्कालाई उतारेको थियो । पेनाल्टीमा निराजन, निरज बस्नेत, विकास राई दीप कार्कीले गोल गरे । पाहुना टोलीका जो एन्गोला र अरमेल अहान्डा पेनाल्टीमा चुक्दा विक विक, नज्मा यानिक र यान्कि ओहोनाले गोल गरे । जो एन्गोला र अरमेलको प्रहार काँकड्भिट्टाका गोल किपर दीप कार्कीले उत्कृष्ट बचाउ गरे । काँकड्भिट्टाका लागि भने पहिलो पेनाल्टी हानेका भुषण लिम्बुको प्रहार डुफिन्स फुटबल क्लब क्यामरुनका गोल किपर मौआ माडुले बचाउ गरे । उद्घाटन खेलको निर्धारित समयमा कुनै पनि गोल भएन ।
प्रतियोगितामा क्यामरुम र भुटानको गरी २ विदेशी टिमसहित ८ टिमको सहभागिता छ । नेपालका विभागिय टोली पुलिस, आर्मी सँगै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लबको सहभागिता रहने संयोजक कार्कीले जानकारी दिए । गोल्डकपको बिजेताले यो वर्ष १६ लाख पाउँदा उपबिजेताले ८ लाख पाउने छ । यस्तैगरी प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३० हजारसहित ४२ इञ्चको एलइडी टिभी पाउदा सर्वा्धिक गोलकर्ताले नगद ३० हजार पाउने छ। अन्य बिधागत रुपमा उत्कृष्ट हुने खेलाडीले जनही नगद २० हजार पाउने र प्रत्येक खेलको म्यान अफ द म्याच हुने खेलाडीले नगद १० हजार सहित ट्रफी पाउने आयोजकले जनाएको छ । राष्ट्रिय जागृति क्लब इटहरीको आयोजनमा भएको खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले गरेका थिए ।