उपाधि सयपत्री बोइज युनियन क्लबलाई - Crazysaptahik.com

उपाधि सयपत्री बोइज युनियन क्लबलाई

सुनसरीको पानवारीमा चौथो भलिबल कपको उपाधि आयोजक सयपत्री बोइज युनियन क्लबले आफ्नो पोल्टामा पारेको छ । शनिबार धरान–६ पानवारीमा अवस्थित सिमल चौरीमा भएको फाइनल खेलमा आयोजक सयपत्री बोइज युनियन क्लबले आमचोक गाँउपालिका भोजपुरलाई सोझो सेट ३–० मा पराजित गरेको हो ।

आमचोकलाई पहिलो सेटमा २५–१९, दोस्रो सेटमा २५–२३ र तेस्रो सेटमा २५–१९ ले पराजित गरेको हो । आयोजक क्लबले क्वाटर फाइनलमा सबुज गण इटहरी र सेमिफाइनलमा धरान भलिबल क्लबलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो । आमचोक गाँउपालिका भोजपुरले क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरी बल पकली र सेमिफाइनलमा एक नं. प्रदेश प्रहरी रानीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

फाइनल खेलको म्यान अफ द म्याच भोजपुरका रोशन विक घोषित भए । यस्तै बेष्ट स्पाइकर भोजपुरकै हरि पाण्डे, बेष्ट लिफ्टर सयपत्रीका मुस्कान लिम्बू, बेष्ट डिफेन्स सयपत्रीका बसन्त राई घोषित हुँदै नगद रु ५ हजार पुरस्कार जितेका छन् भने प्रतियोगिताको उत्कृष्ट खेलाडी सयपत्रीका सञ्जय बुढाथोकी घोषित हुँदै नगद रु १० हजार पुरस्कार जितेका छन् । प्रतियोगिताको उपाधी विजेता सयपत्री बोइज युनियन क्लबले नगद रु ७५ हजार र ३० तोला बढीको चाँदीको ट्रफि हात पारेको छ । त्यस्तै उपविजेता भएको भोजपुरले नगद रु ४१ हजार जितेको छ ।

सम्बन्धित खवर