भूमिप्रसाद पाठक
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाको उपप्रमुख यमुना विष्ट (बास्तोला)ले नगरमा स्वास्थ्य, शिक्षा, विकास निर्माण कार्यमा कडाइको साथ अनुगमन गर्दा गुनासो र वेलावेला कर्मचारीहरुले दम्भ देखाएको आरोप लाग्ने गरेको बताएकी छन् ।
मोरङको पथरीशनिश्चरेमा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको शनिबार आयोजित विषेश साधारण सभामा बोल्दै उपप्रमुख विष्टले सो कुरा बताएकी हुन् । केही दिन अघि करिव ८० वर्षको वृद्धालाई स्वास्थ्य स्थिति हेर्न नगर अस्पतालको डाक्टर घरमा लाने क्रममा स्वास्थ्य प्रमुख मुरारी आचार्यले घर घरमा स्वास्थ्यकर्मी पठाउन नहुने तर्क गर्दै उल्टै उपमेयरले दम्भ देखाएको केही पत्रकारलाई समाचार लेखाएका थिए ।
पथरीशनिश्चरे नगरले ८० वर्ष माथिको वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि घरमै स्वास्थ्यकर्मीको व्यवस्था गर्ने निर्णय पास भएको उपमेयर बिष्टको भनाइ छ ।
सोही अनुसार वडा नम्बर ३ को वृद्धा गोमादेवी गौतमलाई स्वास्थ्य स्थिति हेर्न डाक्टर पठाउने क्रममा स्वास्थ्य संयोजक मुरारी आचार्यले स्वास्थ्यकर्मी घरमा लान अवरोध गर्न खोजेका थिए । नगरको नीति अनुसार उपमेयर विष्टले ती वृद्धाको घरैमा डाक्टर लगेर स्वास्थ्य स्थिति हेर्न लगाएकी थिइन् ।
बिष्टले विरामी हेर्न स्वास्थ्यकर्मी विरामीको घरमा लगेपछि स्वास्थ्य संयोजक मुरारी आचार्यले आफू निकटका सञ्चारकर्मी बोलाएर उपप्रमुखले दम्भ देखाएको आरोपसहित समाचार लेखाउन भ्याएका थिए । यद्यपि विरामी गोमादेवी गौतमको शनिवार देहान्त भएको छ ।
उनै विरामीको स्वास्थ्य स्थिति हेर्न पठाउन खोज्दा स्वास्थ्य कर्मी मुरारी आचार्यले अवरोधको प्रयास गरेको मेयरको भनाइ छ । सोही विषयलाई लक्षित गर्दै उमप्रमुख विष्टले राम्रा काम गर्दा कर्मचारीबाट वाधा अवरोध हुने गरेकोमा गुनासो गरेकी थिइन । कर्मचारी जनताको सेवक बनेर काम गर्न उपप्रमुखको निर्देशन थियो । ‘ हात्ती हिड्दै गर्छ, कुकुर भुक्दै गर्छ,’ उपप्रमुख बिष्टले सुनाइन् ‘२० वर्षदेखि नेपाल कर्मचारीले चलाएपनि अव भने आफ्नो कर्तव्य बुझ्नु पर्छ ।’ १४ वर्षदेखि एउटै निकायमा बस्नु पनि कानून विपरित भएकोले ख्याल गर्नुपर्ने बताइन् ।
नगरपालिकामा स्थापित नगर अस्पताल नगरपालिका, स्थानीयबासी र स्वास्थ्यमन्त्री भानुभक्त ढकालको पहलमा दुई जना एमबीबीएस डाक्टर र स्वास्थ्य उपचारको सामाग्री ल्याएकोमा एउटा कर्मचारीले मैले ल्याएको हुँ भनेर समाचार लेखाउन भन्नु हास्यस्पद हुने उनको भनाइ थियो ।
पथरीशनिश्चरे नगरको हरियाली सामुदायिक वन नेपालकै उत्कृष्ट पुरस्कार र नमूना बन्न सफल भएकोमा बधाई शुभकामना दिदै थप प्रगतिको लागि शुभकामना दिएकी थिइन । वनको विकासको लागि नगरपालिका सहायोग गर्न तयार रहेको बताइन ।
सामुदायिक वनको अध्यक्ष काबुलबहादुर मगरको सभापतित्वमा भएको बिशेष साधारण सभामा ३ नम्बर वडाका अध्यक्ष डम्बर बहादुर चेम्जोङ, सञ्चारकर्मी अर्जुन जम्नेली राई, वन विज्ञ विष्णुप्रसाद ज्ञवाली लगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पथरी सव डिभिजन वन कार्यालयका प्रमुख महोमद अलाउदिन, पशुपति सामुदायिक वन उपभोक्ता समूहको सचिव मैना आचार्य लगायत सहभागिता रहेको थियो ।
सामुदायिक वनको विषेश साधारण सभाले हरियाली सामुदायिक वन लिमिटेड कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरेर पर्यटन विकासमा लाग्ने निर्णय भएको छ । जसको लागि वनको पूर्व अध्यक्ष देविप्रसाद भेटवाल अध्यक्ष, सचिव रमेश दाहाल, सदस्यहरुमा रिता गिरी, सुमित्रा थाङ्देन, अशोक साम्पाङ राई, रोहित बास्तोलाको ६ सदस्यीय समिति गठन भएको छ ।