पशुपति क्षेत्रका अवैध संरचना हटाउन उर्दी - Crazysaptahik.com

पशुपति क्षेत्रका अवैध संरचना हटाउन उर्दी


क्रेजी साप्ताहिक काठमाडौं । पशुपति क्षेत्र विकास कोष पशुपति क्षेत्रभित्र निर्माण भएका अवैध संरचना हटाउन कस्सीदै सातदिने समयसीमा तोकेर लागेको छ । पशुपति क्षेत्रभित्रको खुलाचौर, कैलाशडाँडा, मृगस्थली, गोरखनाथक्षेत्र, वनगणेश, पञ्चदेवल वृद्धाश्रम, भकुन्डोल क्षेत्रलगायतमा अव्यवस्थित तबरले छाप्रा बनाएर वर्षौंदेखि व्यक्तिहरूले व्यवसाय तथा बसोबास गर्दै आइरहेका छन् । कोषका अनुसार, पशुपतिभित्र व्यापार तथा बसोबास गर्दै आइरहेकाहरूले कोषसँग अनुमति लिनुपर्छ । तर, अधिकांशले अनुमति लिएका छैनन् । तैपनि उनीहरूले उन्मुक्ति पाउँदै आइरहेका थिए ।

पशुपति क्षेत्र विकास कोषले जनाएअनुसार कोषको अनुमतिबेगर निर्माण भएका संरचनाले पशुपति क्षेत्रभिको सौन्दर्यताका साथै भक्तजन, तीर्थयात्री र पर्यटकको आवागमनमा अवरोध पुगेकाले त्यसलाई हटाउन लागिएको हो । त्यस्तै, पशुपति क्षेत्र बाहिर अतिक्रमण गरेर निर्माण भएको संरचना हटाउन पनि कोषले ताकेता गरेको छ । पशुपति क्षेत्रभन्दा बाहिर कतिपयले निजी क्षेत्र अतिक्रमण गरेर टहरा तथा पाली बनाएका छन् । यसरी बनाइएका संरचनाका कारण पैदल यात्रु निर्वाध हिँड्डुल गर्न सकिरहेका छैनन् । यहीबीच कोषले त्यस्ता संरचना हटाउन पनि आग्रह गरेको हो ।

कोषले आफ्नो क्षेत्रभित्र र बाहिर अतिक्रमण गरेर बनाइएका संरचना हटाउन माघ ७ गतेसम्मको समय दिएको छ । निर्धारित समयभित्र पनि अटेरी गरेमा आफैंले त्यस्ता संरचना हटाउने चेतावनी कोषले दिएको छ । ‘आ–आफ्ना घर टहराले चर्चेको जग्गाको क्षेत्रफलभन्दा बाहिर मापदण्डविपरीत मूलसडक तथा सहायक सडकमा हिँड्ने पैदलयात्रुहरूलाई असर पर्नेगरी राखिएका पाली टहरा नहटाएमा प्रचलित कानूनको अधीनमा रही कोष आफैं भत्काउन बाध्य हुने व्यहोरा जानकारी गराइन्छ,’, कोषद्वारा जारी सूचनामा भनिएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.