एमसिसी राष्ट्रीय हितमा छ : प्रवक्ता श्रेष्ठ - Crazysaptahik.com

एमसिसी राष्ट्रीय हितमा छ : प्रवक्ता श्रेष्ठ


क्रेजी साप्ताहिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसिसी राष्ट्रीय हितमा भएको बताएका छन् । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहेका श्रेष्ठले उक्त कुरा बताएका हुन् । उनले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउँदै सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताए ।

“एमाले र माओवादी भन्ने इतिहास हो”, श्रेष्ठले भने, “नेकपाले सक्षम नेतालाई सभामुख बनाउँछ, भागबन्डामा नेकपा लाग्दैन ।”  नेता श्रेष्ठले पत्रकारहरुको जवाफ दिँदै पार्टी एकीकरण भइसकेपछि पनि पूर्वएमाले र पूर्वमाओवादी भन्ने कुरा जायज नभएको प्रस्ट पारेका थियो । उनले उपसभामुखको राजीनामा आउनेमा नेकपा ढुक्क रहेको बताउँदै संसद्को गतिरोधले छिट्टै निकास पाउने बताए । संवैधानिक व्यवस्थाअनुसार सभामुख पाउनका लागि नेकपाले उपसभामुखलाई राजीनामा दिलाउने विश्वस्त पारे ।

राष्ट्रियसभाको उम्मेदवारसमेत रहेका नेता श्रेष्ठले पार्टीको चाहनाअनुसार नै आफूले राष्ट्रियसभामा उम्मेदवार दिएको बताए । राष्ट्रियसभाको निर्वाचनको प्रचारप्रसारका लागि गण्डकी प्रदेशबाट उम्मेदवार बन्नुभएका नेता श्रेष्ठ र भगवती न्यौपाने बागलुङ आएका हुन् ।

सम्बन्धित खवर