क्रेजी साप्ताहिक पथरी ।
लागुऔषध र हतियारसहित पाँच जनालाई मोरङको कानेपोखरी गाउँपालिका–बाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–८ का २० वर्षीय दिनेश विश्वकर्मा, वर्ष २० को रामबहादुर पौडेल, वर्ष २० कै गौरव बस्नेत, सुन्दरहरैंचा–९ का २१ वर्षीय उत्सव ढकाल र सुनवर्षी नगरपालिका–८ डाइनियाका २८ वर्षीय मोहम्मद मुस्ताफ रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले आइतबार राति १०ः३० बजे उनीहरुलाई पक्राउ गरेको हो । को २ ह ३९६८ नम्बरको टेम्पोमा रमाइलोबाट उत्तरतर्फ कानेपोखरी आउँदै गर्दा सुरुमा विश्वकर्मा, पौडेल, बस्नेत र ढकाल पक्राउ परेका थिए । टेम्पोको हुटको भित्र ‘फल्स बटम’ मा लुकाएर ल्याएको अवस्थामा उनीहरुबाट लागुऔषध बरामद गरेको डिएसपी गिरीले जानकारी दिए । पक्राउ पर्ने मध्ये विश्वकर्मा टेम्पो चालक हुन् । सुरुमा पक्राउ परेका चार जनासँग लागुऔषध नाइट्राभेट ३० ट्याब्लेट, कोरेक्स तीन बोतल, स्पास्पोक्रेन प्लस ४८ ट्याब्लेट र विभिन्न कम्पनीका छ वटा मोबाइल सेट फेला परेको डिएसपी गिरीले बताए ।
पक्राउ परेकाले डाइनियाका मोहम्मद मुस्ताफले आफूहरुलाई लागुऔषध बिक्री गरेको बताएपछि प्रहरीले डाइनिया पुगेर राति नै मुस्ताफलाई पनि पक्राउ ग¥यो । मुस्ताफले प्रहरीले बरामद गरेको लागुऔषध उनीहरुलाई एक हजार पाँच सय रुपैयाँमा बिक्री गरेको खुलेको छ । पाँचै जनालाई पक्राउ गरेर अनुसन्धान थालिएपछि उनीहरुले सुन्दरहरैंचा–२ का ५२ वर्षीय अब्बास मियाँसम्म लागुऔषध पु¥याउने गरेको खुलेको डीएसपी गिरीको भनाइ छ । मियाँको घर सुनवर्षीको डाइनियामा पनि छ । त्यसपछि सुन्दरहरैंचा र सुनवर्षी दुवै ठाउँमा रहेको उनको घरमा पुगेर प्रहरीले छापा मारेको थियो ।
खानतलासीका क्रममा मियाँको घरबाट विभिन्न कम्पनीका मोबाइलका पाँच थान सेट, लागुऔषध स्पास्पोक्रेन प्लस दुई सय ७८ ट्याब्लेट र नाइट्राभेट एक सय ५० ट्याब्लेट तथा एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने तीनवटा गोली बरामद भएको जानकारी डीएसपी गिरीले बताए । गिरीका अनुसार मियाँ भने घरमा नभेटिएकोले प्रहरीले खोजी तीव्र पारेको छ । पक्राउ परेकाहरु विरुद्ध लागुऔषध तथा हातहतियार खरखजना मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जानकारी गिरीले दिए ।