अहिले के गाउँ के सहर सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । यसले सहज र सरता प्रदान गरेपनि विभिन्न प्रकारका समस्या तथा विकृति पनि निम्त्याउँदै गएको देखिन्छ ।
अहिले सामाजिक सञ्जालकोे दुरुपयोगले भयानक रूप पनि निम्त्याएको छ । सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानका कारण बोली चाली हुँदै विस्तारै मायाजालमा पर्ने जोडीहरुको उदाहरण पनि लामै छ । यस्तै जालमा परेकी मोरङ उर्लाबारीकी एक किशोरीको हाल बिचल्ली भएको छ । घटना विवरणअनुसार उर्लाबारीकी निशा धिमाल (परिवर्तित नाम)लाई वि.सं. २०७५ साल चैतमा निशान धिमालले सामाजिक सञ्जाल फेसबुकमा साथीका लागि अनुरोध पठाए । निशाले त्यस अनुरोधलाई सहर्स स्वीकार गरिन् । त्यसपछि उनीहरूबीच फेसबुकमा कुराकानीको श्रृखंला अत्यधिक बढ्न थाल्यो । बेलबारी–३ का १९ वर्षीय निशानले निशालाई माया गर्छु भन्दै फेसबुकमा मोबाइल नम्बर माग्न भ्याए ।
निशाले मोबाइल नम्बर दिन अलि अप्ठ्यारो मानिन् । धेरै पटक मोबाइल नम्बर मागेपछि उनले गलत नम्बर दिइन् । निशाको फेसबुकमा भने उनको नम्बर थियो । त्यसपछि फेसबुकमा नम्बर हेरेर निशानले उनलाई फोन सम्पर्क गरे । निशानले किन गलत नम्बर दिएको भनेपछि उनी अचम्ममा परिन् । कसरी नम्बर पाउनुभयो भन्दा उनले फेसबुकबाट पाएको प्रतिक्रिया दिए । यसपछि निशाले आफ्नो दाइको नम्बर भएकाले कल नगर्न भनेकी थिइन् । तर, निशानले कल गर्न छोडेनन् ।
यसरी उनीहरूबीच कुराकानी बढ्दै गयो । त्यस क्रममा निशानले पटक–पटक प्रेम प्रस्ताव पनि राखे । फेसबुक र फोनमा उनीहरूबीच कुराकानीको श्रृंखला एकदमै मजबुत हुन थाल्यो । त्यसपछि उनीहरूले उर्लाबारीमा पहिलो पटक भेट गरे । निशानले निशालाई धेरै माया गर्ने बताए । त्यसपछि उनीहरूबीचको माया–प्रेमको गोरेटोहरु बढ्दै जान थाल्यो । उनीहरू माया–प्रेममा मात्र सीमित भएनन् । उनीहरूबीच यौन सम्पर्क पनि हुन थालेको थियो । मात्र १६ वर्ष पुगेकी निशालाई ललाई–फकाई निशानले पटक–पटक यौन सम्पर्क गरे । वैशाख महिनादेखि उनीहरूको भेटघाट बढ्न थाल्यो ।
निशानले यौन सम्पर्कको बेला तिमी मेरी बूढी हो, म माया गर्छु, मैले जे गरे पनि के हुन्छ भन्ने गरेका थिए । यौनका बारेमा खासै जानकारी नभएकी निशाले ४ महिनापछि आफ्नो पेटमा बच्चा भएको थाहा पाइन् । यसरी उनले डाक्टरमा देखाउँदा औषधि सेवनबाट बच्चा फ्याँक्न नमिल्ने भएपछि उनले निशानलाई सो कुरा सुनाइन् । त्यसपछि निशानले जेसुकै गर भन्दै निशाको मोबाइल नम्बर ब्लक लिष्टमा राखिदिए । अब के गर्ने भन्ने बारेमा उनलाई केही थाहा भएन ।
निशाको उमेर सानै भएका कारण उनको पेट पनि देखिएको थिएन । बच्चा पेटमा हुर्किरहँदा समेत आफन्त तथा स्थानीयले सुइकोसम्म पाएनन् । वि.सं. २०७६ साल माघ १ गते एक्कासि निशाले बच्चा जन्माउँदा आफन्त तथा स्थानीय चकित भए । यसरी बच्चाको बाबु को हो भनेर सोधीखोजी गर्दा बेलबारी–३ का १९ वर्षीय निशान भएको जानकारी भयो । त्यसपछि आफन्त तथा स्थानीयले निशानकै घर पुगेर निशालाई जिम्मा लिन अनुरोध गरे । तर, निशानले आफ्नो बच्चा नभएको भन्दै निशालाई अस्वीकार गरे ।
यसपछि बेलबारीमै धिमाल समुदायको महाराज थानमा भेला भएर त्यस विषयमा छलफल पनि भयो । त्यसमा पनि निशानले स्वीकार गरेनन् । बेलबारी नगरपालिकाको न्यायिक समितिमा पनि छलफल भयो । त्यहाँ पनि निशालाई स्वीकार नगर्ने उनले झिनो अडानसम्म लिएन । स्थानीय महिला अधिकारकर्मी समेत निशानको गल्ती ढाकछोप गर्न सक्रिय बने । न्यायको खोजीमा रहेकी निशाले न्याय नपाएपछि दुःखी बनेकी छन् । ७ दिनको छोरा बोकेर उनी न्यायको खोजीमा भौंतारिरहेकी छन् । निशानले विवाह गर्ने आश्वासन दिएर आफूलाई ललाई फकाई यौन सम्पर्क गरेको पीडित किशोरीले बताइकी छिन् ।
आफूले धेरै पटक निशानलाई जानकारी गराउँदा पनि जिम्मा लिन नमानेकाले कानूनी कारबाहीको बाटो रोज्न बाध्य हुने जनाइन् । उनले जबरजस्ती करणी अन्तर्गतको मुद्दामा उजुरी दिने तयारी थालेकी छिन् । आफूलाई प्रलोभनमा पारेर यौन सम्पर्कपश्चात् बच्चा बनाएर विचल्ली बनाएको भन्दै उनले न्यायका लागि सहयोग गर्न महिला अधिकारकर्मी, सञ्चारकर्मी तथा सबैलाई अनुरोध गरेकी छिन् । प्रहरी प्रशासनले समेत उजुरी दिन नमिल्ने भन्दै मिल्न दबाव दिएको पीडित परिवारले बताएका छन् । यस्तै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईले उजुरी परेको खण्डमा पक्राउ गरी कानून बमोजिम कारबाही गर्ने जनाएका छन् ।