क्रेजी साप्ताहिक । एम्बुलेन्समा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले हेटौंडा उपमहानगरपालिकाबाट गाँजा सहित एम्बुलेन्स नियन्त्रणमा लिएको छ । शनिबार साँझ प्रहरीले वडा नम्बर १९ बाट बा २ झ १७४९ नम्बरको एम्बुलेन्सबाट ३० किलो ६०० ग्राम गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको टोलीले एम्बुलेन्सबाट गाँजा बरामद गरेको थियो । उक्त सरकारी एम्बुलेन्स रौतहटको डुमरिया स्वास्थ्य चौकीको रहेको मकवानपुर प्रहरी प्रवक्ता ललनकुमार कर्मीले बताए । एम्बुलेन्स चालक डुमरिया नगरपालिका ९ का मोहम्मद खलिद सहित अशोक कुमार र भारत बिहार मोतिहारीका विनोद सहनी प्रहरीको नियन्त्रणमा छन् । एम्बुलेन्ससहित नियन्त्रणमा लिइएकाहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम दुईदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तथा सवारी साधनसमेत जफत हुने व्यवस्था छ । सोही ऐनअनुसार उनीहरूमाथि कारबाही हुने प्रहरीले जनाएको छ ।