क्रेजी साप्ताहिक । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै विभत्स तरिकाले हत्या गरेर फ्यालिएको अवस्थामा एक युवाको नाङ्गो शव फेला परेको छ । दुहवी–१२ बुकडोरीतर्फ हत्या गरेरै पराल र माटोले पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएका युवाको नाम, थर र वतन भने खुल्न नसकेको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।
पहिचान नखुलेका ति युवाको शव भेटिएको जानकारी स्थानीयले प्रहरीलाई दिएका थिए । शरीरमा लगाएका कुनै पनि कपडा नभएको र अनुहार तथा टाउको किच्याएर चिन्नै नसक्ने बनाएको अवस्थामा शव भेटिएको पोखरेलले बताए । बाँस झ्याङ नजिकै रहेको घटनास्थलमा वरपर लतपतिएको रगतका टाटाहरु छन् । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको मखलर (गलबन्दी) को टुक्रा फेला परेको एसपी पोखरेलले बताए । हत्या गरेर फ्यालिएका युवाको उमेर अन्दाजी २०/२५ वर्ष जस्तो देखिन्छ । शरीरका केही भाग सड्न लागेको अवस्थामा भेटिएको शव पोस्टमार्टमका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेर घटनाको अनुसन्धान गहन ढंगले थालिएको एसपी पोखरेलको भनाइ छ ।
उनले सड्न थालेका कारण घटना दुईरतीन दिन अघिको हुन सक्ने आशंका गरिएको बताए । ‘घटना हत्या नै हो । हत्या गरिएका युवाको पहिचान हुन सकेन,’ पोखरेलले भने, ‘प्रहरीले विभिन्न ठाउँमा पुगेर बुझ्ने काम गरिरहेको छ । शव भेटिएका युवाको पहिचान खुलेदेखि घटनाको वास्तविकतासम्म पुग्न सकिने थियो ।’ हत्या गरिएका युवाको पहिचान नै नभएका कारण घटनामा संलग्नका बारेमा पनि यकिन हुन नसकेको उनको भनाइ छ । घटनाको प्रकृति हेर्दा कुनै रिसिईबीका कारण केही न केही नियत राखेर हत्या गरे जस्तो देखिने उनले बताए । घटनास्थलबाट नजिकै दक्षिण–पश्चिममा विराटनगरबाट बुकडोरीतिर जाने पक्की सडक छ । ‘अति नै व्यस्त रहने सडक छेउमै शव भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनु पर्छ,’ एसपी पोखरेलले भने, ‘घटनाको प्रकृति हेर्दा घटनामा एक जनाको मात्रै संलग्नता हैन भन्ने देखिन्छ ।’