भुटानी शरणार्थी शिविरमा फुटबल च्यालेन्ज कप २०२१ हुने - Crazysaptahik.com

भुटानी शरणार्थी शिविरमा फुटबल च्यालेन्ज कप २०२१ हुने

क्रेजी साप्ताहिक
पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आगामी माघ २ (जनवरी १५) गतेदेखि ‘५ औं अन्तर्राष्ट्रिय आमन्त्रित फुबटबल च्यालेञ्ज कप – २०२१’ हुनेभएको छ ।

युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) भुटानी शरणार्थी शिविर पथरी शनिश्चरेले सोमबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी च्यालेञ्ज कप बारे जानकारी गराएको हो ।

प्रतियोगितामा झापा, मोरङ, सुनसरी र भुटान (भुटानी शरणार्थी शिविर) गरी जम्मा १४ वटा फुटबल टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । कोरोना भाइरसको कारण भारतको सिक्किम र सिलिगुडीको टिमहरु भने यो संस्करणमा बोलाउन नपाएको आयोजक समितिले बताएको छ । यसअघिको चार वटा संस्करणमा भारतबाट सहभागी हुँदै आएका थिए ।

प्रतियोगितामा झापाको काँकडभिट्टा फुटबल तालिम केन्द्र, बीवाइसी (भुटानी शरणार्थी शिबिर) बेलडाँगी, मोरङको टेन नवोदय, पथरी शनिश्चरे एफसी, योङ्ग ब्रदर्स, बिन्दयाबासिनी विराटनगर, बेलबारी, उर्लाबारी, लेटाङ, फ्रेन्स क्लब, सुनसरीको एफएफसी धरान, धरान सिटी एकेडेमी, आयोजक युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) ए र बी गरी १४ वटा टिम सहभागी हुने आयोजक समितिका सचिव करण चाम्लिङ राईले बताए । उपाधि विजेताले एक लाख एक हजार र दोस्रो हुनेले ५१ हजार नगद, ट्रफी र मेडलहरु पाउनेछन् ।

पत्रकार सम्मेलनमा पथरीशनिश्चरे १० निवासी गीतकार गणेश थक्लुङ, युवा समाजसेवी सुमन कुरुम्बाङ लगायतले फुटबल प्रतियोगिता सफलताको शुभकमना दिएका थिए । कार्यक्रममा आयोजक नरेन्द्र राई, जुद्धबहादुर राई, चिराग राई लगायतको उपस्थिति रहेको थियो ।

आयोजक समितिको संयोजक रामकुमार बानियाले भने ‘नेपालमा रहेका भुटानी शराणर्थी युवाहरु कुलत नफसुन, राम्रो शिक्षा लिउनु भन्ने हाम्रो मुख्य उदेश्य हो ।’ प्रतियोगिताको फाइनलसम्म पुग्दा झापा मोरङमा रहेका चार वटा महिला फुटबल पनि गराइने आयोजक समितिले जानकारी गराएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.