क्रेजी साप्ताहिक
पथरी । मगर समुदायको नयाँ वर्ष शार ल्हेसा ५०१५ तथा माघे संक्रान्ती राष्ट्रिय पर्वको अवसरमा मोरङको पथरी शनिश्चरेमा शुभकामना आदान– प्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
विहिबार (माघ १ गते) नेपाल मगर संघ पथरी शनिश्चरेको आयोजनामा भएको कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्यहरु मारुनी, कौडा, हुर्रा, छेलो र छिटो खाने खेल लगायत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नगरका २ ज्येष्ठ नागरिक भद्र बहादुर पुलामी मगर र रणमाया पिठाकोटे मगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि पथरी शनिश्चरेका नगर प्रमुख दिलिप कुमार राईले सम्पूर्ण नगरवासी लगायत देश विदेशमा रहेका नेपालीहरुमा माघे संक्रान्ती तथा शार ल्हेसा ५०१५ को शुभकामना व्यक्त गर्नु भयो । सम्पूर्ण जातजातिको भेषभुषा, धर्म, संस्कृति भोलिको पुस्ताका लागि महत्वपूर्ण रहेकाले ती सबैको संरक्षण गर्नु आजको पुस्ताको दायित्व रहेको उल्लेख गर्दै नगर प्रमुख राईले यस किसिमका कार्यक्रमले धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न मद्दत पुग्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा संविधान सभा सदस्य लालबहादुर सुस्लिङ, नेपाल मगर संघ जिल्ला अध्यक्ष टिकाराम पिठाकोटे, प्रदेश १ सदस्य पार्वता पिठाकोटे मगरलगायतले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रम नेपाल मगर संघ पथरी शनिश्चरेका अध्यक्ष टंक राना मगरको अध्यक्षता रहेको थियो भने कार्यक्रम सञ्चालन सचिव खगेन पुलामीको रहेको थियो ।