प्रधानमन्त्री कपमा सुनील धमलाको शतक - Crazysaptahik.com

प्रधानमन्त्री कपमा सुनील धमलाको शतक


नेपाल पुलिस क्लबका सुनील धमलाले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा शतक प्रहार गरेका छन् । प्रतियोगिता अन्तर्गत बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको लुम्बिनी प्रदेश विरुद्धको खेलमा धमलाले १०४ रन बनाएका हुन् । धमलाले राष्ट्रिय प्रतियोगितामा शतक प्रहार गरेको यो पहिलो पटक हो ।

ओपनिङमा आएका धमलाले शतक पूरा गर्न ४४ ओभरसम्म कुर्नुपरेको थियो । उनले १४२ बल खेल्दै ७ चौका र १ छक्का मद्दतमा शतक पूरा गरेका थिए । ४३ औं ओभरको चौथो बलमा लुम्बिनीका कप्तान कृष्ण कार्कीलाई १ रन प्रहार गर्दै उनले शतक पूरा गरेका थिए । त्यसपछि अर्को ओभरमा धमला आउट भए ।

लुम्बिनीका अनिल खरेलले विकेटकिपर सुशान्त थापाबाट धमलालाई स्टम्पिङ गराएका थिए । पहिलो सिजनदेखि नै पुलिसबाट प्रधानमन्त्री कप खेल्दै आएका धमलाले चौथो संस्करणमा आएर शतक पूरा गरेका हुन् । उनलाई ढिला खेल्ने खेलाडीको रुपमा चिनिन्छ ।

तर टिमको इनिङ्स एक छेउबाट सम्हाल्दै ब्याटिङ गर्नु उनको विशेषता हो । धमलाको शतक दीपेन्द्र सिंह ऐरीको ८५ रन, अनि पवन सर्रासफ १३ बलमै अर्धशतक मद्दतमा पुलिसले लुम्बिनीलाई ३११ रनको लक्ष्य दिएको छ । धमलाले अघिल्लो खेलमा सुदूरपश्चिम विरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.