पीएम कप क्रिकेट : बागमतीले टस जितेर ब्याटिङ गर्दै - Crazysaptahik.com

पीएम कप क्रिकेट : बागमतीले टस जितेर ब्याटिङ गर्दै

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह बी का दुई खेल भइरहेका छन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल सुरु भएको छ । बागमती टस जितेर पहिले ब्याटि गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर सेमिफाइनलमा स्थान पक्का भने भइसकेको छैन ।

त्यसैले लुम्बिनीलाई पराजित गरेमा बागमतीले अन्य खेलको नतिजा पर्खनुपर्ने छैन र समूह बी को विजेता बन्दै सेमिफाइनल पुग्नेछ । पहिलो खेलमै साविक विजेता नेपाल पुलिस क्लबलाई पराजित गरेको बागमतीले त्यसयता सुदूरपश्चिम र प्रदेश २ लाई पराजित गरेको थियो । ३ खेलबाट ६ अंकसहित बागतीत समूहको शीर्ष स्थानमा छ ।

उता लुम्बिनीले भने सेमिफाइनल होड कायम राख्न बागमतीलाई हराउनै पर्नेछ र पुलिस र प्रदेश २ बीच हुने अन्तिम खेलको नतिजा पनि पर्खुनुपर्नेछ । प्रदेश २ लाई पहिलो खेलमा पराजित गरेको लुम्बिनी दोस्रो खेलमा नेपाल पुलिससँग पराजित भएको थियो । तेस्रो खेलमा सुदूरपश्चिमलाई पराजित गरेको लुम्बिनीको ३ खेलबाट ४ अंक छ ।

यस्तै कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा प्रदेश २ र सुदूरपश्चिम बीच खेल सुरु भएको छ । सुदूरपश्चिमले टस जितेर फिल्डिङ रोजेपछि प्रदेश २ ले पहिले ब्याटिङ गरिरहेको छ । लगातार तीन खेल हार्दै समूह चरणबाट बाहिरिसकेको सुदूरपश्चिम अन्तिम खेललाई सुखद बनाउन चाहन्छ ।

प्रदेश २ ले पनि अहिलेसम्म खेलेका दुई वटै खेल हारेको छ । त्यसैले दुवै टोली पहिलो जितको खोजीमा छ । प्रदेश २ ले समूहको अन्तिम खेल पुलिससंग खेल्नेछ । समूह ए बाट यसअघि नै दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफले सेमिफाइनलमा स्थान पक्का गरिसकेका छन् ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.