पथरी बहुमुखी क्याम्पसमा तोडफोड - Crazysaptahik.com

पथरी बहुमुखी क्याम्पसमा तोडफोड

क्रेजी संवाददाता
पथरी । मोरङको पथरीशनिश्चरे–१ मा स्थापित पथरी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले शुक्रबार तोडफोड गरेका छन् ।

नेवि संघ पथरी क्याम्पस इकाई समितिले शनिबार वनभोज कार्यक्रमको आयोजना गरेको छ । वनभोज कार्यक्रमको लागि क्याम्पसमा रकम माग गरेका थिए । तत्काल रकम नदिएकोमा नेवि संघ इकाई कार्यसमितिका कार्यबाहक अध्यक्ष बिदुर बस्नेत लगायतको टोलीले अमर्यादित व्याबहार सहित तोडफोड गरेको पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समितिद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । टोलीमा पूर्ब स्ववियु सभापति गोपाल साम्बा, सदस्य केशर राई लगायतका विद्यार्थीहरु रहेको बताइएको छ ।

क्याम्पस प्रमुख चेतन पौडेल, उपप्रमुख शान्तिराम तिम्सिना लगायतको उपस्थितिमा जाडो विदा दिने कि नदिने लगायतको बिषयमा पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समितिको बैठक बसिरहेको थियो । संघमा आवद्ध विद्यार्थीहरुले बैठक बसिरहेको कार्यालय बाहिर नारा जुलुस तथा तोडफोड गरेका थिए । नेवि संघका कार्यकर्ताहरुले बैठक बसिरहेको कोठाको बाहिरबाट चुकुल लगाएको र केहीबेरपछि आफैं ढोका फोरेर बैठकमा प्रवेश गरी नारा जुलुस गरेको संघले बताइएको छ ।

सोही क्याम्पसमा अध्ययनरत विद्यार्थी समेत रहेका नेवि संघका कार्यकर्ताहरुले क्याम्पस प्रशासन—मुर्दावाद, क्याम्पस प्रमुख—राजिदामा दे, शिक्षक कर्मचारीलाई—कालोमोसो दल्छौ लगायतका अमर्यादित नारा लगाएको प्राध्यापक संघको विज्ञप्तिमा उल्लेख छ । विद्यार्थीहरुको अमर्यादित व्यावहारले असुरक्षा पैदा भएको भन्दै पठानपाठन गर्न नसक्ने संघले जनाएको छ ।

पब्लिक क्याम्पस प्राध्यापक संघ, नेपाल इकाई समिति पथरीबहुमुखी क्याम्पसका अध्यक्ष उमेशकुमार खड्का र सचिव सुर्यबहादुर कटुवालद्वारा हस्ताक्षरित विज्ञप्तिमा यो परिस्थितिमा पठानपाठन गर्न नसक्ने उल्लेख छ । यता नेपाल विद्यार्थी संघ क्याम्पस इकाई समितिले भने पर्याप्त खेलकुद सामाग्री र खेलमैदानको व्यवस्थापन, शौचालय सरसफाइ हुनुपर्ने, टाढाको विद्यार्थीलाई यातायातको व्यवस्थापन हुनुपर्ने लगायतको माग राखेर पुस ८ गतेदेखि ७ दिनको अल्टिमेटम दिएको थियो । माग पूरा नभए जस्तोसुकै मूल्य चुकाउने चुनौति दिएका थिए ।

यद्यपि विद्यार्थीहरुले संगठनको माग भन्दा पनि शनिबार आयोजना हुने वनभोजको लागि पैसा नदिएकैमा शुक्रबार तोडफोड तथा विन अनुमति बैठकमा प्रबेस गरेर अमर्यादित व्यवहार गरेको संघले जनाएको छ । प्राध्यापक संघको विज्ञप्तिपछि आइतबारदेखि क्याम्पस लाग्ने कि बन्द रहने अन्योलता सिर्जना भएको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.