
गोविन ल्वागुन
शिवसताक्षी । झापाको शिवसताक्षीमा भएको ‘दोस्रो शिवसताक्षी नगर भेट्रान फुटबल प्रतियोगिता’को उपाधि वडा नं. ९ ले आफ्नो पोल्टामा पारेको छ ।
शनिबार शिवसताक्षी–१ धरमपुरमा स्थापित फूलबारी रंगशालामा भएको वडा स्तरीय भेट्रान फुटबलमा वडा नम्बर ९ ले वडा नम्बर १० लाई शुन्यका विरुद्ध १ गोल गर्दै उपाधि माथि कब्जा जमाएको हो ।
खेलको पहिलो हापमा दुवै टिमबाट गोलरहित बराबरी भएको खेलमा दोस्रो मध्यान्तरको १७ औं मिनेटमा वडा नं. ९ का सन्तोष थोप्रा दिएको पासलाई सही सदुपयोग गर्दै विनोद खरेलले गोलमा परिणत गरेका थिए । खरेलको एक मात्र गोल जितको लागि निर्णायक गोल बन्न पुग्यो ।
फाइनल खेलको म्यान अफ द म्याच विजेता टिमका विनोद खरेल घोषित भए भने सर्वोत्कृष्ट खेलाडी पनि विजेता टिमकै सत्यनारायण चौधरी घोषित भए । यसैगरी सर्वाधिक गोलकर्ता वडा नं. ८ का केसन्त सेर्मा घोषित हुँदै ट्रफी र सम्मान पत्रद्वारा पुरस्कृत भए । यस्तै जेष्ठ खेलाडी वडा नं. ८ का बमबहादुर राईलाई पनि सम्मानित गरिएको थियो ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे भने उपविजेताले ३० हजार सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरे । शिवसताक्षी भेट्रान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणको उपाधि वडा नं. १ ले जितेको थियो ।

