
क्रेजी संवाददाता
मोरङ । मोरङको पथरीमा शनिबार आयोजित माघे संङ्क्रान्ति तथा यले संवत नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा प्रदेश नं. १ को नाम किरात नराखिए आन्दोलन चर्किने चेतवानी दिइएको छ ।
किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बक्ताहरुले सो चेतावनी दिइएको हो ।
किरात कुनै एउटा जाति नभएर इतिहास, भूगोल, सभ्यता भएकोले प्रदेशको नाम किरात राख्दा साझा हुनै र सबैलाई स्वीकार्य हुने वक्ताहरुको दावि थियो ।
सो कार्यक्रममा पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राईले नयाँ बर्ष र संङ्क्रान्तिको शुभकामना दिनु भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा किरात राई यायोक्खा केन्द्रीय प्रचार विभाग प्रमुखसमेत रहेका सचिव अर्जुन जम्नेली राई, जिल्ला अध्यक्ष नरहाङ राई, समाजसेवी कुमार चाम्लिङ लगायतले मन्तब्य दिएका थिए ।
यायोक्खाले प्रदेशको नाम किरात राख्न लामो समयदेखि जनप्रदर्शन, हस्ताक्षर संकलन गरेर बुझाउने कार्यदेखि, किरात प्रदेश नामकरणको साहित्यिक तथा खेलकुद जस्तो कार्यक्रम हुँदै आएको छ ।
किराती समुदायले यले संवतलाई नयाँ बर्षको रुपमा मान्दै आएका छन् । हाङ यलम्बरको नामबाट सुरु भएको यले संवत माघ १ देखि ५०८१ सकिएर ५०८२ लागेको छ । यो संवत विक्रमा दित्यको नामबाट सुरु भएको विक्रम संवत र ईशा मसिहको नाममा चलेको इस्वी संवत भन्दा जेठो संवत हो ।
आयोजक समितिको अध्यक्ष प्रेम राईको सभापतित्वमा भएको शुभकामना आदानप्रदान कार्यक्रम अघि पथरी साकेला थानमा रहेको यलम्बरको मूर्तिमा मालेअर्पण तथा साकेला नृत्य प्रस्तुत भएको थियो । नयाँ बर्षको अवसरमा यायोक्खा पथरीशनिश्चरेले सेल रोटी, तरुल, चिया पानी वितरण गरेको थियो ।
सोही अवसरमा अक्षकोष स्थापना गर्ने उदेश्यले चार सयलाई साधारण सदस्यता वितरण भएको सचिव निर्मला राईले बताए । साधारण सदस्यमा दुई सय थपेर अक्षकोष स्थापना गर्न प्रति सदस्य तीन सय संकलन गर्दै आएको छ । सदस्यबाट संकलित रकम अक्षकोष स्थापना कार्यक्रमहरु सञ्चालन गरिने अध्यक्ष प्रेम राईले बताए ।

