
वर्षको पहिलो ग्राण्ड्सलाम अष्ट्रेलियन ओपनको उपाधिका लागि स्पानिस राफाएल नाडाल र रसियन खेलाडी डानिएल मेदभेदेभ भिड्ने भएका छन् । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा ग्रीसका स्टेफानोस सिसीपासलाई ३–१ ले पराजित गर्दै मेदभेदेब लगातार दवस्रो पटक फाइनल पुगेका हुन् ।
मेलवर्नमा भएको खेलमा मेदभेदेभले सिसीपासलाई ७–६ (७–५),४–६,६–४, ६–१ ले हराए ।गत वर्ष नोभाक जोकोभिकसँग फाइनलमा पराजित भएका मेदभेदेभ युएस ओपनपछि अर्को ग्राण्ड्सलाम उपाधि जित्ने योजनामा छन् ।
उता नाडाल कीर्तिमानी २१औं पटक ग्राण्ड्सलाम उपाधि नजिक छन् । रोजेर फेडेरर र जोकोभिच समान सर्वाधिक २० ग्राण्ड्सलाम जितेका नाडाल २९औं पटक ग्राण्ड्सलामको फाइनल पुगेका हुन् ।
नाडालले पहिलो सेमिफाइनलमा इटालियन माटेओ बेरेट्टीनीलाई ३–१ कै सेटमा पराजित गरेका थिए ।यस्तै महिलातर्फको उपाधिका लागि अष्ट्रेलियाकै एस बार्टी र अमेरिकन डानिएले कोलिन्सबीच प्रतिस्पर्धा हुनेछ ।


