ईश्वर दुलाल
मोरङ। निजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मोरङ जिल्लाको १६ औं चुनावी साधारणसभामा बरिष्ठ उपाध्यक्ष पदका लागि उपेन्द्र कँडेलले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ। सोमबार प्याब्सन मोरङको कार्यालयमा उहाँले आफ्नो मनोनयन दर्ता गर्नुभएको हो।
उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने कँडेलले संस्थागत विद्यालयहरूको हकहितका लागि लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। कँडेल पथरीस्थित भूपू सैनिक आवासीय अंग्रेजी माविका प्रिन्सिपल हुनुहुन्छ। उहाँले २०६४ सालदेखि प्याब्सनसँग आबद्ध भई विभिन्न पदमा कार्य गर्दै आएको अनुभवसहित आफूले उम्मेदवारी दिएको बताउनुभयो।
उहाँले प्याब्सनको विभिन्न तहमा २०६४ सालदेखि महाधिवेशन प्रतिनिधि, २०६६–६८ पथरी इलाका सचिव, २०६८–७३ पथरी इलाका संयोजक तथा जिल्ला कार्यसमिति सदस्य, २०७३–७५ जिल्ला कार्यसमिति सदस्य, २०७५ नगर तदर्थ समिति संयोजक, २०७५–७८ नगरकार्य समिति अध्यक्ष तथा जिल्ला कार्यसमिति सदस्य, २०७८–८१ नगर प्रमुख सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्नुभएको छ। यी अनुभवहरूबाट संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न उहाँले महत्त्वपूर्ण योगदान दिनुभएको छ।
पथरी शनिश्चरे नगर शिक्षा समितिको सदस्यका रूपमा २०७४–७९ सम्म काम गर्दै कँडेलले सामुदायिक तथा संस्थागत विद्यालयहरूको गुणस्तर वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको छ। साथै, संस्थागत विद्यालयका प्रिन्सिपल तथा कर्मचारीहरूको पहलमा स्थापना गरिएको सुन्दर फुल बचत तथा ऋण सहकारी संस्थाका संस्थापक, कोषाध्यक्ष, सचिव हुँदै अध्यक्षसम्मका जिम्मेवारी उहाँले पूरा गर्नुभएको छ।
हाल पथरी शनिश्चरे नगरपालिकाको शैक्षिक योजना निर्माण मस्यौदा समितिमा सक्रिय कँडेलले प्याब्सन मोरङको नेतृत्वलाई थप सुदृढ बनाउने उद्देश्यले उम्मेदवारी दिएको बताउनुभएको छ।
बरिष्ठ उपाध्यक्ष पदमा आफू योग्य उम्मेदवार किन भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “संस्थागत विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्न, संगठनलाई सुदृढ बनाउन, शिक्षामा नवीन नीति र कार्यक्रम लागू गर्न, शिक्षकहरूको व्यावसायिक विकास तथा उनीहरूको हकहितको संरक्षण गर्न, विद्यार्थीहरूको समग्र विकासका लागि योजना बनाउन र संगठन तथा विद्यालयहरूको सञ्चालनमा पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्न मैले उम्मेदवारी दिएको हुँ।“
प्याब्सन मोरङको आगामी चुनावमा कँडेलको उम्मेदवारीले उहाँको नेतृत्व क्षमतामा विश्वास राख्नेहरूको ध्यान तानेको छ। उहाँले संस्थागत विद्यालयहरूको प्रतिनिधित्व गर्दै शिक्षामा गुणस्तर सुधार गर्ने लक्ष्यसहित यस पदमा आफूलाई निर्वाचित गराउन आग्रह गर्नुभएको छ।
बरिष्ठ उपाध्यक्ष पदको यो प्रतिस्पर्धामा कँडेलको उम्मेदवारीलाई उनीसँग नजिक रहेका शैक्षिक र सहकारी क्षेत्रका व्यक्तिहरूले समर्थन जनाएका छन्। उहाँको उम्मेदवारीले प्याब्सन मोरङको नेतृत्वलाई नयाँ दिशामा लैजान सहयोग गर्ने उहाँको समकालीन साथीहरुले विश्वास लिनुभएको छ।