रेडस्टारमा सन्दीपको “जीवनको लागि हाँसो” प्रेरणादायी कार्यक्रम - Crazysaptahik.com

रेडस्टारमा सन्दीपको “जीवनको लागि हाँसो” प्रेरणादायी कार्यक्रम


क्रेजी संवाददाता
पथरी।
नेपालका पहिलो स्ट्यान्ड–अप कमेडियन तथा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीले पथरी शनिश्चरे ०२ मा स्थापित रेडस्टार मावि र ऋतम्भरा बहुमुखी क्याम्पसद्वारा आयोजित “जीवनको लागि हाँसो” शीर्षक प्रेरणादायी कार्यक्रममार्फत आफ्ना उत्कृष्ट प्रस्तुति दिएका छन् ।

कार्यक्रममा कक्षा ११, १२ र बीबीएसका विद्यार्थीहरूलाई करियर निर्माण तथा जीवनमा सकारात्मक दृष्टिकोण अपनाउन सन्देश दिँदै, क्षेत्रीले दृढ संकल्प र निरन्तर अभ्यासले मात्र हरेक क्षेत्रमा सफलता प्राप्त गर्न सकिने उल्लेख गरे । उनका प्रेरणादायी शब्दहरूले विद्यार्थीहरूमा आत्मविश्वास र उत्साह थपेको थियो ।

कार्यक्रमको पहिलो सत्रमा इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालले लागुपदार्थ दुव्र्यसनी र साइबर अपराध न्यूनीकरणबारे सचेतनामूलक सत्र सञ्चालन गरेका थिए । डीएसपी दाहालले युवाहरूलाई अनुशासन र सचेतनाको महत्त्वबारे जानकारी दिँदै सकारात्मक जीवनशैली अपनाउन प्रेरित समेत गरे ।

रेडस्टार माविको परीक्षा केन्द्रमा उपस्थित विभिन्न विद्यालयका छात्र–छात्राहरूलाई कलाकार क्षेत्रीले एसईई र अन्य परीक्षाहरूमा सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरे ।

कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, रेडस्टार माविका संस्थापक तथा प्रबन्ध निर्देशक राजु तिम्सिना, संस्थापक विजय डाँगी, लर्ड बुद्ध साकोसका व्यवस्थापक गणेश कुमार राई लगायत प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिले थप गरिमा थपेको थियो ।

सो कार्यक्रममा ७ सयभन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो । विद्यार्थीहरूलाई विशेष स्वागत रेडस्टारका राष्ट्रिय सेवा दलअन्तर्गत क्याडेट छात्रछात्राहरूले गरेका थिए ।

कार्यक्रम सञ्चालन ऋतम्भरा बहुमुखी क्याम्पस बीबीएस दोस्रो वर्षमा अध्ययनरत कृतिका भट्टराईले गरेकी थिन् ।

एसईई र कक्षा १२ को बोर्ड परीक्षामा निरन्तर उत्कृष्ट नतिजा दिँदै आएको रेडस्टार माविले विद्यार्थी, शिक्षक र अभिभावकहरूका लागि प्रेरणादायी कार्यक्रमहरू आयोजना गर्दै आएको छ । केही समयअघि हास्य कलाकार मनोज गजुरेलले पनि यहाँ प्रेरणादायी प्रस्तुति दिएका थिए ।

“जीवनको लागि हाँसो” कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक ऊर्जा थप्नुका साथै अनुशासन, लगनशीलता र सफलताप्रति सचेत रहन प्रेरणा प्रदान गरेको सहभागी बिबिएस दोस्रो वर्षमा अध्यानरत विद्यार्थी समीक्षा ढुङ्गेलले बताइन् ।
यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूलाई मात्र नभई अभिभावक र शिक्षकहरूलाई पनि उत्साहित बनाउने विद्यालयका प्राचार्य टिएन तिम्सिनाले बताए ।

सम्बन्धित खवर