पथरीशनिश्चरेमा ७२ औँ कुष्ठरोग दिवस मनाइयो - Crazysaptahik.com

पथरीशनिश्चरेमा ७२ औँ कुष्ठरोग दिवस मनाइयो


ईस्वर दुलाल
मोरङ –
“एकताबद्ध भई कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ“ भन्ने मूल नाराका साथ मोरङको पथरीशनिश्चरे नगरपालिकाले ७२ औँ कुष्ठरोग दिवस मनाएको छ ।

आईतबार वडा नम्बर ३ मा आयोजित कार्यक्रममा नगर उपप्रमुख देवीमायाँ काफ्ले, वडा नम्बर ३ का वडाध्यक्ष बिजय लिम्बु, स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, जनस्वास्थ्य निरीक्षक एकराज खत्री, क्षयरोग मुक्त घोषणा अभियानका संयोजक मुकेश पौडेल, स्वास्थ्यकर्मी, स्वयंसेवक र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कुष्ठरोगबाट मुक्त भई नियमित औषधि सेवन गरेर रोगलाई निर्मूल पार्न सफल आठ जना नागरिकलाई सम्मान गरिएको थियो । उनीहरूले नियमित औषधि सेवन र सही उपचारले रोग नियन्त्रण तथा निको पर्न सकिने सन्देश दिएका छन् ।

नगर उपप्रमुख देवीमायाँ काफ्लेले कुष्ठरोग निर्मूलका लागि समाजको सकारात्मक सोच, जनचेतना, र सहकार्य आवश्यक रहेको बताउँदै उहाँले भन्नुभयो, “कुष्ठरोग केवल स्वास्थ्यसम्बन्धी विषय नभई सामाजिक विभेद र भ्रम हटाउने अभियान पनि हो । सबैको सहकार्यले मात्र हामी कुष्ठरोगमुक्त समाज निर्माण गर्न सक्छौँ ।”

स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यको अनुसार नगरपालिकाले नियमित जनचेतनामूलक कार्यक्रम, औषधि उपलब्धता, र रोगको समयमा पहिचान तथा उपचारमा जोड दिँदै आएको बताउनु भयो । उहाँले भन्नुभयो, यसले नगरलाई कुष्ठरोगमुक्त बनाउने अभियानलाई प्रभावकारी बनाउन सहयोग पुर्याएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) का अनुसार, कुष्ठरोग संक्रमित व्यक्तिको लामो समयसम्म सम्पर्कमा रहँदा सर्ने रोग हो, जसलाई सही उपचारले पूर्ण रूपमा निको पार्न सकिन्छ । औषधि सेवन र रोगबारेको चेतना अभावका कारण अझै पनि समाजमा यसको गलत व्याख्या गरिन्छ ।

पथरीशनिश्चरे नगरपालिकामा प्रत्येक वर्ष स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले नगरपालिका भरि कुष्ठरोगबारे जनचेतना फैलाउँदै आइरहनुभएको छ । नेपाल सरकारले सो रोगको पनि निःशुल्क औषधि वितरण र रोगको पहिचान अभियान सञ्चालन गर्दै आएको छ ।

पथरीशनिश्चरे नगरपालिकाले हरेक वडामा कुष्ठरोगसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै नागरिकहरूलाई थप जानकारीहरु प्रदान गरिने गर्ने कृयाकलापहरुमा सकृय रहेको जनस्वास्थ्य निरिक्षक एकराज खत्रीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर