लागू औषध विरुद्धको ३ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न - Crazysaptahik.com

लागू औषध विरुद्धको ३ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न


ईश्वर दुलाल
पथरी ।
आदर्श समाज नेपालको आयोजना तथा पथरीशनिश्चरे ०९ को आर्थिक सहयोगमा लागू औषध विरुद्धको ३ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । पथरीशनिश्चरे ०९ मा अवस्थित सिंहवाहिनी माविमा आयोजित तिन दिने लागू औषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रम मंगलबार सम्पन्न सम्पन्न भएको हो ।

माघ १३ गतेदेखि १५ गतेसम्म संचालित कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय, ईलाका प्रहरी कार्यलय पथरी, र विभिन्न शैक्षिक संस्थाको सहकार्य रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक दीपक पोख्रेलले लागू औषध दुव्र्यसनले युवापुस्तालाई कसरी नकारात्मक दिशामा धकेलिरहेको छ भन्नेबारे आफ्नो धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “लागू औषधले मात्र व्यक्ति होइन, पूरा समाजलाई असर गर्छ । यसको नियन्त्रणका लागि परिवार, विद्यालय, र समुदायले हातेमालो गर्नुपर्छ । युवा शक्ति सही दिशामा अग्रसर भए मात्र समाज उज्यालो बन्न सक्छ । प्रहरी प्रशासन यसलाई रोक्न प्रतिवद्ध छ, तर यसको दीर्घकालीन समाधान सामूहिक तथा समुदायको प्रयासबाट मात्र सम्भव छ ।“

कार्यक्रमका विशिष्ट अतिथि नगर उपप्रमुख देवीमाया काफ्लेले लागू औषध समस्यालाई सामुदायिक रोगको रुपमा व्याख्या गर्दै भन्नुभयो,“लागू औषध दुव्र्यसनले हाम्रो समाजका युवा तथा बालबालिकालाई लक्षित गरेको छ । यस्ता कार्यक्रमहरुले मात्र होइन, घर–घरमा सचेतना फैलाउन आम अभिभावक र शिक्षकको भूमिकासमेत महत्त्वपूर्ण छ । हामी सबैको साझा प्रयासबाट मात्र यो समस्या समाधान गर्न सकिन्छ ।“

ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहालले प्रहरी प्रशासनले लागू औषध रोक्न थालेका कदमबारे जानकारी दिँदै भन्नुभयो,
“प्रहरीले कानूनी कारबाही मात्र होइन, सचेतनामूलक अभियानलाई पनि जोड दिएको छ । लागू औषध नियन्त्रण गर्नु समाज सुधारको प्रमुख आधार हो । शिक्षाले यसको प्रभावकारी रोकथाम गर्न सक्छ, त्यसैले अभिभावक, विद्यालय र प्रहरीबीचको सहकार्य अपरिहार्य छ ।“

कार्यक्रममा प्रशिक्षण प्रदान गर्नुभएका प्रहरी निरीक्षकद्वय खगेन्द्र लिम्बु र देवीदत्त मोतेले लागू औषधको दुष्प्रभाव, रोकथामका उपाय, र यससम्बन्धी कानूनी प्रावधानबारे गहन जानकारी दिनुभयो ।

कार्यक्रमको आकर्षण भने शारीरिक सुगठनका अन्तर्राष्ट्रिय खेलाडी मनोज सुवेदीको विशेष उपस्थितिले बनेको थियो । उहाँले युवा शक्तिलाई सकारात्मक क्षेत्रमा संलग्न गराउन प्रेरित गर्नुभयो ।

सम्बन्धित खवर