
क्रेज संवाददाता
पथरी । प्रथम ऋतम्भरा कप अन्तर+२ नक आउट भलिबल प्रतियोगिताको छात्रतर्फको उपाधि राष्ट्र निर्माण माविले जितेको छ । यस्तै छात्रातर्फको उपाधि रेडस्टारले जितेको छ ।
आज मंगलबार पथरी शनिश्चरेमा भएको प्रतियोगितामा रेडस्टारले एभरेष्ट बोर्डिङ स्कूलको छात्रा भलिबल टिमलाई ३–१ सेट अन्तरमा पराजित गरेको हो । यस्तै, छात्रतर्फको भलिबल प्रतियोगिताको उपाधि राष्ट्र निर्माण माविले आफ्नो पोल्टामा पारेको छ । राष्ट्र निर्माण रतुवामाईले मोरङ मोडल मावि उर्लाबारीलाई ३–१ सेटको अन्तरले पराजित गरेको हो ।
छात्र छात्रा दुवै भलिबल प्रतियोगिताका विजेता तथा उपविजेता टिमले क्रमशः १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहित मेडल, ट्रफी र प्रमाण– पत्र प्राप्त गरेका छन् ।

त्रिभुवन विश्व विद्यालयद्वारा सम्वन्धन प्राप्त निजी क्षेत्रबाट स्थापित ऋतम्भरा बहुमुखी क्याम्पसले सो प्रतियोगिता +२ तहका विद्यार्थीहरूको खेल क्षमता वृद्धि तथा मैत्री सम्बन्ध स्थापना गर्ने हेतुले आयोजना गरिएको जनाउँदै यो प्रतियोगिता निरन्तर रूपमा हरेक वर्ष आयोजना गरिने ऋतम्भरा बहुमुखी क्याम्पसका प्रमुख टि.एन. तिम्सिनाले जानकारी दिनुभयो ।
प्रतियोगितामा पथरी शनिश्चरे, उर्लाबारी, रतुवामाई, कानेपोखरी र लेटाङ पालिकाका छात्रतर्फ १८ र छात्रातर्फ विभिन्न विद्यालयहरूमा अध्ययन खेलाडीहरूले भाग लिएका थिए । उक्त प्रतियोगिताका विभिन्न विधाहरूमा विजयी खेलाडीहरूलाई प्रमुख अतिथि पथरी शनिश्चरे नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल, ऋतम्भरा बहुमुखी क्याम्पसका संस्थापक राजु तिम्सिना, एभरेष्ट बोर्डिङ स्कुलका प्रिन्सिपल रबिन कन्दङ्गवा, वडा नम्बर २ का वडा सदस्य चन्द्रकुमार राई, मोरङ मोडलका प्रिन्सिपल हेमन्त गौतम तथा सञ्चालक सन्दीप पौडेल, राष्ट्र निर्माण माविका ’प्लस टु’ को–अर्डिनेटर अनिष कार्की, पथरी शनिश्चरे नगरपालिकाका सूचना सम्पादक सन्तोष राई, सञ्चारकर्मी अर्जुन जम्नेली राई, रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालयका भाइस प्रिन्सिपल बसन्त मादेन लगायत विभिन्न अतिथिहरुले पुरस्कृत गर्नुभएको थियो ।



