विकास गर्न जनप्रतिनिधि नै हुनु पर्दो रहेछ ! - Crazysaptahik.com

विकास गर्न जनप्रतिनिधि नै हुनु पर्दो रहेछ !

उर्लाबारी । कतिपयले आफूले गरेको विकासलाई देखाएर चुनाव जित्छन् अनि कतिपय चाँहि विकास गर्ने बाचा देखाएर जनप्रतिनिधि बन्छन् । विकासको बहाना बनाएर चुनाव जितेपछि त्यतातिर फर्किएर पनि नहेर्ने चलन नभएको पनि होइन । यही कोही यस्ता पात्र पनि छन्, जो चुनावको उम्मेदवार पनि होइनन् र कालो धन लुकाउन गरेका पनि होइनन् । तर, उनीहरु विकास र गाउँको उन्नति प्रगतिका लागि जीवन समर्पण गर्छन् । मोरङको उर्लाबारी ९ का सुन्दर श्रेष्ठ, यस्तै व्यक्तिमा पर्छन, जसको काम नामजस्तै सुन्दर छ । गाउँको स्तरोउन्नतिका लागि उनी आफ्नो नीजि खर्चमा नै समाजसेवामा तल्लिन छन् । कहिले सडक बत्ति जडान त कहिले विद्यालयमा सहयोग, खेलकुद र बाटोघाटोको निर्माणमा उनको योगदान रहँदै आएको छ ।

उनलाई कुनै चुनावी एजेन्डा बनाउनु पनि छैन, चुनावका बेला यो गर्छु, त्यो गर्छु भनेर बाचा गर्नेका लागि उनले गरेको यस्ता कामले चुनौति नै थपिदिएको छ । विकासका लागि इच्छाशक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ भन्ने उदाहरण बनेका छन्, सुन्दर । जसले आफ्नै लगानीमा गाउँ नै सुन्दर अर्थात समृद्ध बनाउँदै छन् । यो यात्रामा सकुन्जेल अघि बढ्ने सोच रहेछ, उनको । सुन्दर भन्छन, ‘सकुन्जेल गाउँको विकासमा लाग्ने हो, नसकेका दिन एक थोक पक्कै हुन्छ । हामीले राम्रो जग बसाउन सक्यौं भने गाउँले छिट्टै मुहार फेर्नेछ ।’ विद्यालय, गाउँका सडक बत्तीमा उनले सहयोग गरेका छन् । आफ्नै लगानीमा बाटो, खेलकुद तथा कला संस्कृतिका क्षेत्रमा पनि उनको सहयोग छ । सकारात्मक सोचका साथ सहयोगी हात लिएर अएकालाई उनले रित्तो हात फर्काउँदैनन् । उर्लाबारी ९ को प्रभात निम्न माविमा उनले मञ्च निर्माण र विद्यालय भवनमा रंगरोगन समेत गरिदिएका छन् ।

उर्लाबारी ९ कै राजघाट निमाविमा विद्यालयको घेराबारा पछि गेट निर्माण उनैले गरिदिएका हुन् । सार्वजनिक माविमा पनि उनकै सहयोगमा मञ्च बनेको छ । गाउँका सडकका पोलमा सडकबत्ति जडान गरिदिएपछि रातको समयमा समेत हिँडडुल गर्नुपर्नेका लागि सहजता भएको छ । उनले विद्यार्थीका लागि छात्रवृत्ति कार्यक्रम ल्याए । जसअन्तगर्त १० जना प्रभात निमाविका विपन्न विद्यार्थी निशुल्क पढिरहेका छन् । बर्षेनी विद्यार्थी थप गर्दै लैजाने उनको सोच छ । उनले आफ्नै लगानीमा गाउँसम्म बाटो खोलिदिएपछि अहिले कोही विरामी परे भने बोेकेर लैजानुपर्ने बाध्यता हटेको छ । घरको आँगनसम्मै एम्बुलेन्स पुग्छ । हुन त उनको विगतले पनि उनलाई समाजसेवा तर्फ लाग्न प्रेरित गर्यो । घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै उनी काठमाडौं हानिए । काठमाडौंमा निर्माण र हाउजिङ्ग व्यवसाय गरिरहेका छन् । सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिकमा ज्यालामजदुरी पनि गरे । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि मात्रै उनको जीवनस्तरमा परिवर्तन आयो ।

परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जन्मिएर हुर्किएका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा नै बित्यो । तीन दाजुभाई मध्ये कान्छा उनले पढाई राम्रो गर्न सकेनन् । पढाइ बिग्रिएपछि एसएलसी दिएर उनी काठमाडौं हिँडेका थिए । काठमाडौंमा गरेको कमाईले उनले पराल र सन्ठीको घर भएको ठाउँमा काठको घर हुँदै पक्की घर बनाए । अहिले पनि उनले आफूले काम गर्दै आएको निर्माण क्षेत्र र हाउजिङ व्यवसायबाट आएको पैसा नै गाउँको विकासमा लगानी गर्दै आएका छन् । उनको सोच भावी सन्ततीले दुःख भोग्न नपरोस भन्ने नै हो । मानिसहरु आफ्नो गाउँठाउँलाई बिर्सिदिन्छन्, सुविधा खोज्दै अन्यत्र जान्छन् । तर उर्लाबारी—९ का युवा समाजसेवी सुन्दर श्रेष्ठ त्यसका अपवाद हुन् । भक्तपुरको सल्लाघारीमा बस्दै आएका सुन्दर काठमाडौंमा कडा परिश्रम गर्छन, अनि त्यसको प्रतिफलको केही हिस्सा गाउँको विकासमा खर्चिन्छन् ।

गाउँको पीडामा सक्दा मल्हम पट्टी लगाउने प्रयास हो मेरो । सुन्दर भन्छन्, ‘इच्छा शक्तिका साथै सबै लागिपर्ने हो भने समृद्धी खोज्न अन्यत्र भौतारिनु पर्दैन ।’ राजधानीलाई कार्यथलो बनाएका उनले आफ्नो गाउँमै बसेर केहि गर्ने योजना बनाएको बताए । उनले भने, ‘पछि गएर गाउँमा कृषि र पशुपालन व्यवसाय गर्ने लक्ष्य छ । माछापालन, कुखुरा पालन गाउँमा सुरु गरिसकेको छु ।’

सम्बन्धित खवर