क्रेजी साप्ताहिक
पथरी । आगामी फागुन १७ गतेदेखि मोरङको पथरीशनिश्चरे नगरपालिकामा चौथो नगर वडा कप नक आउट फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रथम पुरस्कार राशी ५१ हजार सहितको नगरकप फुटबलको आयोजना पथरीशनिश्चरे नगरपालिका वडा नम्बर २ स्थित बुद्ध युथ क्लबले गर्ने जानकारी शुक्रबार पत्रकार सम्मेलन गरेर दिएको छ। क्लबको आयोजनामा हुने सातौं संस्करणको प्रतियोगिता भएपनि नगर वडाकपतर्फ भने यो प्रतियिगिता चौथो रहेको संयोजक बिक्की राईले बताएका छन् । नगर भित्र रहेका १० वडाको सहभागीता रहने यस प्रतियोगिताको बिजेता टिमले नगद ५१ हजार पुरस्कार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता बन्ने टिमले नगद ३१ हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ । दोस्रो नगद पुरस्कारको प्रायोजन पथरी शनिश्चरेका ब्रिटिश आर्मीमा आवद्ध खेलप्रेमीहरुले गरेका छन् ।
प्रतियोगितामा उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फर्वाड, उत्कृष्ट गोलकिपर, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले जनही २५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने छन् भने उत्कृष्ट खेलाडीले ३५ सय रुपैयाँ र ट्रफी प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष मदन राईले जनाए । यसैगरी हरेक दिनको खेलका मेन अफ द म्याचले १५ सय रुपैयाँ प्राप्त गर्ने छन् उक्त पुरस्कार पथरीशनिश्चरे–१ मा रहेको सिक्का लन्ज एण्ड बारले प्रायोजन गरेको आयोजकले जानकारी दिएको छ ।
यसैगरी प्रथम पुरस्कारको ट्रफी पथरीशनिश्चरे–२ को वाल्मीकि मेमोरियल स्कुलले गरेको आयोजकले बताएको छ । सो खेल पथरीशनिश्चरे–१ मा रहेको पञ्चायत माध्यमिक बिद्यालयको खेल मैदानमा हुनेछ भने प्रतियोगितामा ६ लाख बराबरको अनुमानित खर्च हुने आयोजकले बताएको छ ।