क्रेजी समाचारदाता
पथरी । मंगलबार
मोरङको पथरीशनिश्चरेमा अवस्थित एभरेष्ट अंग्रेजी बोर्डिङ स्कुलले आफ्नो ३३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस धुमधामका साथ मनाएको छ । तिन दिनसम्म विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । विद्यालयको विद्यार्थी, अभिभावक संघका अध्यक्ष पर्शु मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सीटीएफ नेपालका १ नम्बर प्रदेश निर्देशक बिनोद कार्की रहेका थिए ।
कार्यक्रमको तेस्रो तथा समापनको दिन विद्यार्थीहरुले संस्कृति झल्काउने प्रस्तुति पस्कदै उपस्थित सबैलाई भरपुर मनोरञ्जन प्रदान गरे । यस्तै गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई मेडल, ट्रफी र प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो । विद्यालयले हरेक कक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई क्रमशः सतप्रतिशत, पचास प्रतिशत र पच्चीस प्रतिशत छात्रवृत्ति पनि दिदै आएको छ ।
कार्यक्रमको पहिलो दिन शनिबार विद्यालयले अभिभावकहरुका बिचमा छेलो, म्युजिकल चियर, डोरी तान्ने, हाँडीफोर तथा सियोमा धागो उन्ने लगायतको खेलकुद प्रतियोगिता सञ्चालन गरेको थियो । दोस्रो दिन आइतबार प्लेग्रुप देखि कक्षा १२ सम्मका विद्यार्थीहरुले निर्माण गरेको विज्ञान, प्रविधि लगायतको विषयमा १३ वटा स्टलमा शैक्षिक सामाग्रीहरु प्रदर्शनी गरेका थिए ।
कार्यक्रममा गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरु, अभिभावकहरुका बीचमा भएको खेलकुद प्रतियोगिता र वर्षभरि सञ्चालन गरिएको विभिन्न खेलकुद खेलकुद प्रतियोगिता र वर्षभरि सञ्चालन गरिएको विभिन्न खेलकुद प्रतियोगितामा विजेताहरुलाई विद्यालयका निर्देशक रविन कन्दङवा, प्रमुख अतिथि विनोद कार्की, विद्यालयका प्रिन्सिपल शान्तिराम तिम्सिना लगायतले पुरस्कार वितरण गरेका थिए । एभरेष्टले हरेक वर्ष आफ्नो वार्षिकोत्सव भव्य रुपमा मनाउंदै आएको छ ।