भारतमा नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै सुविधा लिन खोज्ने पक्राउ - Crazysaptahik.com

भारतमा नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै सुविधा लिन खोज्ने पक्राउ


क्रेजी साप्ताहिक काठमाडौँ । नेपालका उपराष्ट्रपतिको सल्लाहकार हुँ भन्दै भारतमा सुविधा लिन खोज्ने एक गिरोहलाई भारतीय प्रहरीले गिरफ्तार गरेको छ । प्रहरीले भारतको मध्यप्रदेश राज्यको उज्जैनमा तीन जनालाई गिरफ्तार गरेको हो । नेपालको सरकारी नम्बर प्लेट भएको सवारी साधन लिएर पुगेका उनीहरु सरकारी सुविधामा ‘सर्किट हाउस’ मा बस्दै आएका थिए । उनीहरुले सरकारी सुविधाका तीन वटा कोठा बुक गराएको बताइन्छ ।

सर्किट हाउसका कर्मचारीलाई शंका लागेपछि प्रहरीलाई खबर गरिएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार प्रहरी टोलीले उनीहरुसँग प्रारम्भिक सोधपुछ गर्दा आफू नेपाल सरकारको प्रतिनिधि रहेको बताएका थिए । प्रहरीले उनीहरुसँग आधिकारिक कागजात तथा परिचय पत्र माग गर्दा उनीहरुले भिजिटिङ कार्ड देखाएका थिए । गम्भीर रुपमा प्रहरीले अनुसन्धान गर्न थालेपछि उनीहरुले केही परिचय पत्रसमेत देखाएको बताइन्छ । ती परिचयपत्र नक्कली पाइएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार महावीरप्रसाद तोरडी, प्रमोद शर्मा र कुलदीप शर्मालाई पक्राउ गरिएको हो । तीमध्ये महावीरले आफू नेपालका उपराष्ट्रपतिको सांस्कृतिक सल्लाहकार भएको बताएका थिए भने प्रमोदले आफू पूर्व सल्लाहकार रहेको बताएका थिए । कुलदीपले भने आफूलाई निजी सचिवका रुपमा परिचय दिएका थिए ।  अनुसन्धानका क्रममा ती तीनैजना भारतीय नागरिक रहेको खुलेको छ । उनीहरु राजस्थानका बासिन्दा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरुको नेपाल सरकारसँग कुनै सम्बन्ध नरहेको समेत खुलासा भएको छ ।

प्रहरीले उनीहरुले प्रयोग गरेको नेपालको सरकारी नम्बर प्लेट भएको कारसमेत नियन्त्रणमा लिएको छ । उक्त कार नेपालकै हो या भारतीय कारमा नेपालको सरकारी नम्बरप्लेट लगाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा उनीहरुले महाकाल मन्दिरमा ‘भीभीआइपी दर्शन सुविधा’ प्राप्त गर्नका लागि उच्च ओहोदा देखाउन यसरी झुटो परिचय दिएको बताएका छन् । उनीहरुले उज्जैन आउनु अघि यस्तै सुविधा लिएर नलखेडास्थित बगलामुखी माताको दर्शन गरेको प्रहरीसमक्ष बताएका छन् । प्रहरीले उनीहरुमाथि विभिन्न धारा अन्तर्गत कारवाहीको माग गर्दै मुद्दा दायर गरेको छ । उनीहरुले झुटो परिचय दिएर कसैलाई ठगी गरेको हुन सक्ने भन्दै प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाइएको छ ।

सम्बन्धित खवर