आज मनाङ र एनआरटी भिड्दै - Crazysaptahik.com

आज मनाङ र एनआरटी भिड्दै


क्रेजी साप्ताहिक
काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा आज साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र एनआरटी भिड्दैछन् । ११ औं चरणको अन्तिम खेलअन्तर्गत आज दुई टिमबीच खेल हुन लागेको हो । एन्फाले मनाङ र एनआरटीबीच यसअघि शनिबार हलचोकस्थित एपीएफ मैदानमा खेल हुने जनाएको थियो । तर प्राविधिक कारणले तोकिएको सयमा खेल हुन नसकेको भन्दै एन्फाले उक्त खेल आजलाई सारेको हो । खेल सातोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो १ बजे हुनेछ ।

१० खेलबाट १९ अंक जोडेको मनाङ अंक तालिकामा चौथो स्थानमा रहेको छ । समान खेलबाट १५ अंकसहित एनआरटी सातौंमा छ । उपाधि होडबाट लगभग टाढिसकेको मनाङलाई एनआरटीलाई हराउँदै तेस्रो स्थानमा उक्लने मौका छ । मनाङभन्दा अघि रहेको थ्री स्टार ११ खेलबाट २० अंकसहित तेस्रोमा छ । उता, शीर्ष ६ मा लिग सकाउने लक्ष्य राखेको एनआरटीका लागि पनि मनाङविरुद्धको खेल महत्त्वपूर्ण छ । मनाङलाई पराजित गर्न सके एनआरटी पाँचौं स्थानमा उक्लनेछ ।

लिगमा अब २ चरणको खेल बाँकी हँदा विभागीय टोली त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लब उपाधि होडमा अघि छन् । आर्मी ११ खेलबाट २६ अंकसहित शीर्षमा छ भने २५ अंक जोडेको मछिन्द्र दोस्रो स्थानमा छ । दुवै टोली पहिलो पटक लिग उपाधि जित्ने दाउमा छन् । १२ औं चरणमा आर्मीले ब्रिगेड ब्वाइज क्लब तथा मछिन्द्रले सकटा क्लबसँग खेल्नेछ । लिगकै अन्तिम खेलमा यी दुई टोलीबीच नै भिडन्त हुनेछ । १२ औं चरणको खेलमा दुवै टोली विजयी भए उपाधि छिनोफानो अन्तिम चरणको खेलबाट हुनेछ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.