गरिब : तिमी कि तिम्रो प्रेम - Crazysaptahik.com

गरिब : तिमी कि तिम्रो प्रेम

  • सबिना मोक्तान

प्रेम,
याद छ तिमीलाई ?
बच्चाबेला खेलेको गुडियाबाजि,
हाम्रो बिहेको खेलमा खाएको विशाल भोज
जहाँ,
माटोको भात,
माटोको तरकारी,
माटो कै अचार अझ माटो कै सिंदुरले रङ्गिएको तिम्रो हात…. अरु बिर्से पनि, म बेहुली बन्दा तिमी बेहुला बनेको त पक्कै सम्झना हुनुपर्छ तिमीलाई ।
“ज्ञानी बन्नु, झगडा नगरी
स्कुल जानू है माया,
भन्दै तिम्रो र मेरो हात बाधिदिने
हाम्रो बाआमाले बढ्दै जादा,
बिस्तारै बिस्तारै बिस्तार भएको हाम्रो सम्बन्ध छुट्टाउन खोज्दा….. याद छ तिमीलाई ??
डरै डरमा डोरिएको हाम्रो सम्बन्ध…..

कुन्नि कुन साल, कति गते र कुन दिन हो ?
ठ्याक्कै याद नभए पनि
बुढासुब्बाका ती ठुटे बासमा हाम्रो नाम,
पी + एम लेखी त्यही भञ्ज्याङ्मामा धागोले फेरो बाधेको दिन…..
अनि,
कक्षा नौ दस पढ्दा ताका होला
तिम्रो र मेरो……यानकी
माया र प्रेमको मायाप्रेमको कहानीले स्कुलमा हल्ला मच्चाउँदा,
प्रिन्सिपल सरको अगाडि
“आजबाट हामी दाजुबहिनी हौ लेखिएको कागजमा,
रुदैरुदै हस्ताक्षर गरेको त पक्कै सम्झना हुनुपर्छ तिमीलाई ।।

हाम्रो नियमित डेटिङ स्पट,
कक्षा कोठाका ती चिसो बेन्चहरु
जहाँ हामी बर्षैभरी भ्यालेनटाइन डे मनाउथ्यौ….
याद छ तिमीलाई ???
जुठो खादा माया बढ्छ भन्ने आशामा
मैले ओठ राखेकै ठाउँमा तिमीले आफ्नो राखी
एक कप चिया ,
आधा मैले र आधा तिमीले पिएको….
ऊ बेला,
पाँच दस रुपैयाँमा आउने आइसकिरम किनिदिदा
तिमीले मलाई संसारकै महँगो खुशी उपहार दिएको….
अरु बिर्से पनि,
तिम्रा साथीहरूले मलाई भाउजू भनी जिस्काउदा,
तिमी लजाइ लजाइ मुस्कुराएको त पक्कै सम्झना हुनुपर्छ तिमीलाई ।।।

याद नै गर्ने हो भने त,
सम्झनाहरु कति छन् कति….
सायद मान्छे सम्झनाहरुका धनी हुँदा हुन् गरिब त,
वर्तमानमा साथ दिन छुटेका हातहरुले मात्र बनाएको हो

भन्न त नहुने हो,
यो गरिबले सोचे जस्तो खुशी दिन सक्दैन माया, भन्दै
हामी बिचको दुरि लम्बाएर दुर गएको ऊ
आज अरु कसैको साथ भ्यलेनटाइन डे मनाइरहदा म,
हाम्रो ब्रेक अप एनिभरसरी भुल्न खोजदै छु ।।

बच्चाबेला खेल्दाखेल्दै हाम्रो चप्पल साटिए झै
आज ऊ आफै साट्टिए पनि,
उ बेला,
मिलेर गोडमेल गरेको प्रेमको बारीमा,
हाम्रो बालापन डुलिरहन्छ ।
हासेको, बोलेको, संगै नाचेको…..
ऊ भन्दा पनि नकचरो उनका यादहरुले अझै
जिस्काइरहन्छ….।।।

म पनि सम्झनामै कोरेको उसको आकृतिलाई
घरीघरी प्रश्न गर्छु, प्रेम, के तिमीलाई उसले पनि,
यो मायाले झै प्रेम गर्छे त ??
करोडौंको गाडीमा चढाए पनि,
मैले गाउँ घुम्दा समाए झै,
तिम्रो हात समाउछे त ??
उसले पनि मैले हसाए जस्तै गरि हसाउछे त ???

धनको खोक्रो खोल ओढिरहेको उसलाई भेटे भने,
एक छाक मात्रै भए पनि आलोपालो गाँस खाएर,
गरिबीमै पनि ओठको सहारा लिदै हासेको मनहरुलाई देखाउदै,
उसलाई भन्न मन छ……
प्रेम,
मेरा लागि आज पनि,
न तिमी गरिब,
न तिम्रो प्रेम नै…….
गरिब त, तिम्रो मन मात्र भएको हो ।।।।

– पथरीशनिश्चरे, मोरङ

सम्बन्धित खवर