च्यासललाई हराउँदै थ्री स्टारले मनाङलाई पछि पार्‍यो - Crazysaptahik.com

च्यासललाई हराउँदै थ्री स्टारले मनाङलाई पछि पार्‍यो

क्रेजी साप्ताहिक । ललितपुरे डर्बीमा च्यासल युथ क्लबलाई पराजित गर्दै थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिगमा सुखद अन्त्य गरेको छ । योसँगै मनाङ मर्स्याङ्दी क्लब चौंथो स्थानमा धकेलिएको छ । लिग अन्तर्गत शुक्रबार भएको खेलमा थ्री स्टारले च्यासललाई २-० ले हराएको हो ।

यस सिजन आठौं जित हात पार्ने क्रममा थ्री स्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अनन्त तामाङ र भारतीय खेलाडी लाल राम्मभराले एक एक गोल गरे । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७० औं मिनेटमा लाल राम्मभराले हेड गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए ।

उनले निशान खड्काको फ्रिकिकमा प्राप्त बललाई गोल गरेका हुन् । इन्जुरी टाइममा अनन्त तामाङले पनि उनै लाल राम्भराका कारण गोल गरे । च्यासलका छिरिङ गुरुङले ला राम्भरालाई पेनाल्टी बक्समा फउल गरेपछि थ्री स्टारले पेनाल्टी पायो । जसमा अनन्तले गोल गर्दै थ्री स्टारको जित पक्का गरे ।

जितपछि थ्री स्टारले १३ खेलबाट २६ अंक जोडेको छ । साविक विजेता मनाङलाई थ्री स्टारले एक अंकले पछि पारेको छ । मनाङले आजै जावलाखेल युथ क्लबसँग खेल्दैछ । उक्त खेल जिते मनाङ पुनस् तेस्रो स्थानमा फर्कनेछ ।

उता जितबाट लिग सुरु गरेको च्यासलले भने हारबाट सिजनको अन्त्य गरेको छ । च्यासलले पहिलो खेलमा साविक उपविजेता संकटालाई पराजित गरेको थियो ।१३ खेलबाट ५ अंक जोडेको च्यासलले संकटा र एनआरटीसँग गोल अन्तरमा पछि पर्दै नवौं स्थानमा लिग सकाएको छ ।

सम्बन्धित खवर