
क्रेजी साप्ताहिक । खानेपानी र सरसफाइ सम्बन्धी जानकारी दिने तथा नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । भेरीगङ्गा नगरपालिका सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ प्राविधिक चित्रबहादुर केसीलाई रु दुई लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्राविधिक केसीले सो नगरपालिकको वडा नं ११ को तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण सकिएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । आयोगको सुर्खेत कार्यालयबाट गएको टोलीले आरोपी केसीलाई घुससहित बिहीबार पक्राउ गरिएको भए पनि अनुसन्धान बाँकी रहेकाले आज सार्वजनिक गरिएको हो । आयोगका प्रवक्ता कोइरालाका अनुसार केसीलाई वडा नं १० मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको हो ।

