
क्रेजी साप्ताहिक । गत वर्ष फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री रवीन्द्र अधिकारीको पूर्णकदको शालिक आज अनावरण गरिएको छ । पोखरा महानगरपालिका–१८ जामुनाबोटमा राष्ट्रिय विभूति तथा शहीद उद्यान व्यवस्थापन समितिद्वारा निर्मित स्व अधिकारीको शालिक गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक कार्यक्रमका बीच अनावरण गरे ।
उद्यान परिसरमा गण्डकी प्रदेश सरकारले शालिकसहितका संरचना निर्माणका लागि रु १५ लाख उपलब्ध गराएको हो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री गुरुङले समृद्धि र विकासका लागि अधिकारीले देखाउनुभएको बाटो सबैका लागि अनुकरणीय भएको बताए । मन्त्री अधिकारीका अधुरा सपनालाई साकार पार्नु हामी सबैको साझा कर्तव्य भएको बताउँदै उनले विकासप्रेमी नेताका रूपमा अधिकारीको स्मरण गरे । जनप्रतिनिधि जनता र मुलुकका पक्षमा क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले चुनावमा गरेका प्रतिबद्धतालाई आत्मसात गर्नुपर्ने बताए । संविधानको संशोधन राष्ट्रिय आवश्यकताका आधारमा हुनुपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले व्यक्तिगत आवश्यकताका आधारमा संशोधन गर्न नहुने धारणा राखे । स्व अधिकारीका सपनालाई पुरा गर्न अविचलित रूपमा लाग्ने प्रतिबद्धता सांसद खगराज अधिकारीले व्यक्त गरे ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्व अधिकारीले देखाएको बाटोलाई आत्मसात गर्न सके मात्रै अधिकारीप्रति सच्चा श्रद्धाञ्जलि हुने बताए । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले अधिकारीका योगदानलाई जीवन्त राख्नुपर्नेमा जोड दिए । पोखरालाई व्यवस्थित बनाउन चोकचोकमा रहेको शालिकलाई यही शहीद उद्यानमा ल्याइने योजना रहेको उनले जानकारी दिए ।

