प्रेम भट्टराई (केडी)
पथरी । पथरीशनिश्चरे नगरपालिकाको छैटौ नगरसभा आज उद्घाटन भएको छ । पथरीशनिश्चरे २ मा अवस्थित सिनभिलेज पार्टी प्यालेसमा शुक्रबार भएको सभा नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जिवन घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पथरीशनिश्चरे नगरपालिका उपप्रमुख यमुना विश्ट बास्तोलाले स्वागत मन्तब्य राखेकी थिइन् । शुभकामना मन्तब्य राखदै प्रमुख अतिथि जिवन घिमिरेले हजारौ जनताको विश्वासका कारण जनताले निर्वाचित गरेको भन्दै जनताको विश्वासमा घात गर्न नहुने बताए । प्रदेश नं १ लाई सुर्तिजन्य पदार्थको निशेध गर्न प्रदेश सरकार लागेको जानकारी दिँदै आफैँबाट सो कार्यको सुरुवात गर्न सबैलाई आग्रह गरेका थिए ।
उनले यौनकाण्डमा मुछिएका कृष्णबहादुर महरा तथा ७० करोड कमिसन प्रकरणमा मुछिएका गोकुल बास्कोटाको उदाहरण दिँदै गलत कुरा ढिलोछिटो बाहिरिएरै छाड्ने हुँदा जनप्रतिनिधिले सचेत यस्ता प्रकरणमा मुछिन नहुने बताए ।
मन्तव्यकै क्रममा उनले आफूहरु पहिला भ्रष्टाचारको विरुद्ध नारा लगाउँदै हिडेको स्मरण गर्दै अहिले आफुहरु पनि त्यस्तै निकायमा रहेकोले यस्ता प्रकरणमा मुछिए जनताको नजरमा सधैँका लागि गिर्ने बताए ।
कार्यक्रममा बोल्दै पूर्व गा.वि.स अध्यक्ष तिलक बान्तावा राईले आफुले जनताको सेवामा लाग्दा धेरै कुरा गुमाएपनि आफु दुःखि नरहेको बताए । आफ्नो कार्यकालको स्मरण गर्दै त्यो बेला निकायबाट खासै सेवा सुविधा नरहेपनि जनताको सेवामा लाग्दा आफुले कुनै कुराको लोभ नगरी जनताको सेवामा लागेको बताउँदै अहिलेका जनप्रतिनिधीलाई राज्यले सम्बोधन गरेको बताउँदै भ्रष्टाचार विरुद्ध खबरदारी गर्नुपर्ने बताए । नगरसभाको बन्द सत्र शनिबार बिहान ७ बजे हुने बताइएको छ ।