राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज, च्याम्पियन एपीएफ र आर्मी भिड्दै - Crazysaptahik.com

राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज, च्याम्पियन एपीएफ र आर्मी भिड्दै

राष्ट्रिय महिला लिगको अन्तिम दुई खेल आज हुँदैछ । ७ टिम सहभागी लिगमा च्याम्पियन टोलीको टुङ्गो लागिसकेको छ । यस्तै केही टोलीको पोजिसन समेत टुङ्गो लागेको छ । विभागीय टोली एपीएफले दुई खेल अगावै उपाधि पक्का गरिसकेको थियो ।

यस्तै अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब दोस्रो हुने पक्का भइसकेको छ । चन्द्रपुर नगरपालिका सबै १२ खेल खेल्दै छैटौं भएको छ । एक खेल खेल्न बाँकी चौदण्डीगढी सातौं हुने पक्का छ । लिगमा आज पहिलो स्थानको एपीएफ र दोस्रो स्थानको आर्मी तथा पाँचौँ स्थानको नेपाल पुलिस क्लब र चौदण्डीगढीबीच खेल हुनेछ ।

बिहान १० बजे एन्फा कम्प्लेक्समा सुरु हुने खेलमा पुलिसले चौदण्डीगढीलाई पराजित गरेमा पुलिसले तेस्रो स्थानमा रहेर लिग सकाउनेछ । पुलिस विजयी भए अहिले तेस्रो स्थानमा रहेको वालिङ र चौथो स्थानमा रहेको विराटनगर क्रमशः एक स्थान तल झर्नेछन् ।

पहिलो चरणमा पुलिसले चौदण्डीगढीलाई ६-० ले पराजित गरेको थियो । दोस्रो खेल दिउँसो २ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुनेछ । आर्मीले उद्घाटन खेलमा पुलिससँग पनि दशरथ रंगशालमा खेलेको थियो ।

आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले लिगको अन्तिम खेल पनि दशरथ रंगशालमै गर्न लागेको हो । उपाधि पक्का गरिसके पनि एपीएफको लागि अपराजित रहँदै लिग जित्ने अवसर छ । पहिलो चरणमा एपीएफले आर्मीलाई २-० ले पराजित गरेको थियो ।

एपीएफले अपराजित रहँदै सबै ११ खेल जितेको छ । आर्मीले ८ खेल जित्दा २ बराबरी र १ हारको नतिजा निकालेको थियो । लिगमा जुन पोजिसन भए पनि विभागीय प्रतिष्ठाको लडाइँमा एपीएफ र आर्मी अन्तिम खेल जित्दै सुखद अन्त्य गर्ने योजनामा छन् ।

एपीएफकी प्रशिक्षक भगवती थापाले लिग जितिसके पनि आर्मी विरुद्ध खेल्दा दबाब हुने बताएकी थिइन् । उता दोस्रो स्थान पक्का गरिसकेको आर्मी एपीएफको जितको यात्रामा ब्रेक लगाउने योजनामा रहेको आर्मीका प्रशिक्षक राजु तामाङले बताएका छन् ।

एपीएफकी मुख्य स्ट्राइकर तथा सर्वाधिक ४३ गोल गरेकी सावित्रा भण्डारी घुँडाको चोटका कारण करिब एक वर्षका लागि मैदानबाट बाहिर रहने भएपछि एपीएफलाई चिन्ता बढेको छ । १०औं खेलमा पुलिसविरुद्ध घाइते भएकी उनले विराटनगरविरुद्धको खेल खेलिनन् ।

आर्मीविरुद्धको खेल पनि उनले गुमाउनेछिन् । सावित्रा नहुँदा एपीएफले विराटनगरविरुद्ध १-० को कठिन जित हात पारेको थियो । पहिलो पटक डबल राउण्ड रोविन लिगको आधारमा भएको महिला लिगको विजेताले नगद १५ लाख हात पार्नेछन् । यस्तै उपविजेताले ८ लाख पाउनेछन् ।

एपीएफले १५ लाख र आर्मीले ८ लाख पक्का गरिसकेको छ ।

महिला राष्ट्रिय लिगको पुरस्कार

विजेता : १५ लाख

उपविजेता : ८ लाख

तेस्रो स्थान : ५ लाख

चौथो स्थान : ३ लाख

सर्वोत्कृष्ट खेलाडी : स्कुटर

उत्कृष्ट गोलकिपर : ५० हजार

उत्कृष्ट डिफेण्डर : ५० हजार

उत्कृष्ट मिडफिल्डर : ५० हजार

उत्कृष्ट फरवार्ड : ५० हजार

उत्कृष्ट प्रशिक्षक : ५० हजार

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.