भारत १० विकेटले विजयी, सिरिजमा २–१ को अग्रता - Crazysaptahik.com

भारत १० विकेटले विजयी, सिरिजमा २–१ को अग्रता

भारतले इंग्ल्याण्डलाई तेस्रो टेष्टमा १० विकेटले पराजित गर्दै चार खेलको सिरिजमा २–१ को अग्रता बनाएको छ । अब भारतले चौथो सेटमा हार टारे वर्ल्ड टेष्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ । इंग्ल्याण्ड भने फाइनल होडबाट बाहिरिएको छ ।

अब चौथो टेष्ट इंग्ल्याण्डले जितेमा टेष्टमा २–२ को बराबरी हुनेछ र अष्ट्रेलिया फाइनल पुग्नेछ । न्युजिल्याण्ड यसअघि नै फाइनल पुगिसकेको छ । स्पिनर चम्केको यस टेष्टमा भारतले इंग्ल्याण्डले दिएको जम्मा ४९ रनको लक्ष्य विना क्षति ७.४ ओभर खेल्दै गर्दै दोस्रो दिनमै टेष्ट जितेको हो ।

रोहित शर्माले अविजित २५ रन बनाए । यस्तै शुभमन गिलले अविजित १५ रन योगदान गरे । दोस्रो दिन भारतले ९९\३ बाट खेल अघि बढाएको थियो । इंग्ल्याण्डका कप्तान जोय रुटले ५ विकेट लिएपछि भारत पहिलो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो र ३३ रनको सामान्य अग्रता बनाएको थियो ।

तर भारतीय स्पीनरद्वय अक्सर पटेल र रविचन्द्रन आश्विनले घातक बलिङ गरेपछि इंग्ल्याण्ड दोस्रो इनिङ्समा ८१ रनमै अलआउट भयो र भारतले ४९ रनको लक्ष्य पाएको हो । अहमवादस्थित नरेन्द्र मोदी स्टेडियममा पटेल र आश्विन मिलेर ९ विकेट लिएका हुन् ।

इंग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक २५, कप्तान जोय रुटले १९ र ओली पोपले १२ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन् । भारतका लागि अक्सर पटेलले ५ र आश्विनले ४ विकेट लिए ।

यस्तै वासिङ्गटन सुन्दरले १ विकेट लिए । त्यसअघि बिहीबार इंग्लिस कप्तान जोय रुटले ५ र ज्याक लिचले ४ विकेट लिएर भारत पहिलो इनिङ्समा १४५ रनमा अलआउट भएको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.