
विराटनगर । लाख भारु (भारतीय रुपैयाँ)सहित एक भारतीय युवा विराटनगरबाट बिहीबार साँझतिर पक्राउ परेका छन् । भारतीय नागरिक ३४ वर्षीय सञ्जय सिंह दुई लाख ४६ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवाबाट पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।
उनका अनुसार सुरक्षाकर्मीलाई छल्दै लुकाईछिपाई प्रतिबन्धित नोट बोकेर नेपाल छिरेको पाइएपछि भारत अररीयाका बासिन्दा सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । सिंहको साथबाट पाँच सय र दुई हजार दरका भारतीय नोट बरामद भएको छ ।
डीएसपी राईले पाँच सय दरका तीन सय ८८ थान र दुई हजार दरका २६ थान भारतीय नोट बरामद भएको पुष्टि गरे । बरामद भएको भारु नेपाली तीन लाख ६२ हजार चार सय रुपैयाँ हुन्छ । पक्राउ परेका सिंहलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि शुक्रबार विराटनगर भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ ।
नेपालमा पाँच सय माथिका भारतीय नोट बोक्न पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ । राईले बरामद भएको प्रतिबन्धित भारतीय नोटको कुनै स्रोत नखुलेपछि प्रहरीले आफ्नै ढंगबाट थप अनुसन्धान थालेको पनि जानकारी दिए ।
उक्त पैसा अवैध रुपमा हुने गरेको हुण्डी कारोबारको भएको हुनसक्ने आशंका प्रहरीको छ ।

