उच्च बार विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन - Crazysaptahik.com

उच्च बार विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन

विराटनगर ।  उच्च अदालत बार एकाई विराटनगरको १३ औँ कार्यसमिति निर्विरोध चयन भएको छ । अध्यक्षसहित अन्य पदमा दाबी गरेकाहरुले उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति चयन निर्विरोध भएको हो ।

बारको नयाँ अध्यक्षमा अधिवक्ता नारायणप्रसाद दाहाल चयन भएका छन् । अध्यक्षमा दाबी गरेका हरिबहादुर बराल उम्मेदवारी फिर्ता लिएर दाहाललाई निर्विरोध नेतृत्व सुम्पिन तयार भएका हुन् । अध्यक्षका प्रत्यासी बरालले उम्मेदवारी फिर्ता लिएपछि बिना निर्वाचन दाहाल अध्यक्षको जिम्मेवारी पाउन सफल भए ।

उच्च अदालत बार एकाई विराटनगरको १३ औँ कार्यसमितिका लागि मनोनयन दर्ता गराएका दाहाल र बराल दुवै जना सत्तारुढ नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह निकट मानिन्छन् ।

बरालले बिहीबार उम्मेदवारी फिर्ता लिएर दाहाललाई नेतृत्व सुम्पिएपछि निर्वाचन समितिले नयाँ कार्यसमिति निर्विरोध भएको घोषणा गरेको छ । नयाँ कार्यसमितिका लागि पदाधिकारी र सदस्यहरू पनि निर्विरोध निर्वाचित भएका छन् ।

बारको उपाध्यक्षमा अनिल खड्का, सचिवमा प्रेमकुमार घिमिरे, सहसचिवमा कला त्रिताल र कोषाध्यक्षमा महेशकुमार खड्का चयन भएका छन् । सदस्यहरूमा विनोदकुमार तिमल्सिना, यागेन्द्र काफ्ले, पुरुषोत्तम दाहाल, मोहनप्रसाद ओझा, दीपककुमार बुढाथोकी, माया अधिकारी, सागर घिमिरे र मयुर अग्रवाल पनि निर्विरोध चयन भएका छन् ।

केन्द्रीय पार्सदमा चण्डीप्रसाद पराजुली, राजेन्द्रकुमार सुनार र कुवेर कार्की निर्वाचित चयन भएको निर्वाचन समिति संयोजक कुमार भट्टराईले जानकारी दिए । बारको निर्वाचित नेतृत्वको घोषणा फागुन १५ गते गरिने भएको छ ।

उम्मेदवारी दर्ता गराएका नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली समूह निकट रुक्मिणी दाहाल र सदस्यमा सन्निकुमार साहले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नयाँ कार्यसमिति चयन बिना निर्वाचन सम्भव भएको हो ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.