
प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले वेष्टहम युनाइटेडलाई पराजित गर्दै १३ अंकको अग्रता बनाएको छ । शनिबार भएको खेलमा सिटीले वेष्टहमलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा सिटीलाई जित दिलाउन रुबेन डियास र जोन स्टोन्सले गोल गरे । खेलको ३०औं मिनेटमा डियासले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । तर, ४३ औं मिनेटमा वेष्टहमका मिचेल एन्टोनियोले बराबरी गोल फर्काए ।
६८ औं मिनेटमा स्टोन्सले गोल गर्दै सिटीलाई २–१ को जित दिलाए । यो जितपछि सिटीले सबैखाले प्रतियोगितामा लगातार २०औं जित हात पारेको छ । प्रिमियर लिगमा भने सिटीको यो लगातार १४औं जित हो ।
जितपछि सिटीले दोस्रो स्थानको म्यानचेष्टर युनाइटेडमाथि १३ अंकको अग्रता बनाएको छ । लिग लिडर सिटीले २६ खेलबाट ६२ अंक जोडेको छ । दोस्रो स्थानको युनाइटेडको २५ खेलबाट ४९ अंक छ ।
२६ खेलबाट ४५ अंकसहित वेष्टहम चौथो स्थानमा छ ।

