पथरीमा राष्ट्रिय युवा संघद्वारा विरोध सभा - Crazysaptahik.com

पथरीमा राष्ट्रिय युवा संघद्वारा विरोध सभा

क्रेजी संवाददाता
पथरी । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पथरीशनिश्चरे नगर कमिटीले एक विरोध सभाको आयोजना गरेको छ ।

बुधबार नगर कमिटीका अध्यक्ष किसान राईको नेतृत्वमा उक्त विरोध सभा भएको हो । स्थानीय निकायको निर्वाचन यथासमयमा गर्न, पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्य बृद्धि तत्काल फिर्ता गर्न, अपराधिक अभिव्यक्ति दिने मन्त्री रेणुकुमारी यादवलाई तत्काल कारबाही गर्न, नेपालको भारतद्वारा अतिक्रमित लिपुलेकमा भारतले जारी राखेको सडक निर्माण–कार्य अविलम्व बन्द गर्न माग गर्दै रत्नचोकबाट निस्किएको विरोध र्याली पथरी बजार क्षेत्रका विभिन्न मोड र चोक हुँदै जानते मोडमा पुगेर कोणसभामा परिणत भएको
थियो ।

उक्त कोण सभालाई सम्बोधन गर्नुहुँदै राष्ट्रिय युवा संघ नेपालका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका प्रदेश नं १ का उप – सचिव मणि लुम्फुवा लिम्बूले संविधानको रक्षाका लागि सरकारले स्थानीय तहको चुनाव गराउनु पर्ने बताउनुभयो ।

सोही अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य युवराज बास्कोटाले आमजनताले अबको निर्वाचनबाट उन्नत समाजवादको मोडेल विकास गर्ने औंल्याउँदै कांग्रेसको रूखमा झुसुल्किरा लागेर हरियो पात झरिसकेकोले यो कांग्रेसको रूखबाट सचेत रहन र टाढा रहन समेत आग्रह गर्नुभएको थियो ।

कोणसभामा यूवा संघका पूर्व केन्द्रीय सदस्य सञ्जिव गिरी तथा भक्त राई र वडा नं–२ का यामप्रसाद गुरागाई , अनेरास्ववियुकी नेतृ नीता राई लगायतको उपस्थिति रहेको थियो । सोही कार्यक्रमको राष्ट्रिय युवा संघका प्रस्तावित मोरङ जिल्ला सदस्य नवीनजंग कार्कीले सञ्चालन गरेका थिए ।

सम्बन्धित खवर