होल्डरले ४ बलमा लिए ४ विकेट, वेष्ट इन्डिजले जित्यो सिरिज - Crazysaptahik.com

होल्डरले ४ बलमा लिए ४ विकेट, वेष्ट इन्डिजले जित्यो सिरिज

ज्यासन होल्डरले उत्कृष्ट बलिङ गर्दै ४ बलमा ४ विकेट लिएपछि वेष्ट इन्डिजले पाँचौ तथा अन्तिम टी–२० खेलमा इंगल्याण्डलाई १७ रनले पराजित गर्दै सिरिज जितेको छ । पाँच खेलको सिरिजको निर्णायक खेल जित्दै वेष्ट इन्डिजले सिरिज जितेको हो ।

ब्रिजटाउनमा भएको खेलमा वेष्ट इन्डिजले दिएको १८० रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले होल्डरको ४ विकेटपछि १९.५ ओभरमा सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डको इनिङ्स ध्वस्त बनाउन होल्डरले खेलको अन्तिम ओभरमा लगातार ४ बलमा ४ विकेट लिँदै कीर्तिमानी प्रदर्शन गरे ।

होल्डरले २०औं ओभरको पहिलो बल नो बल फालेका थिए । तर त्यसपछि दोस्रो देखि पाँचौ बलसम्म लगातार विकेट लिए । होल्डरले २.५ ओभर बलिङ गर्दै २७ रन खर्चेर ५ विकेट लिए । टी–२० अन्तर्राष्ट्रियमा ४ बलमा ४ विकेट लिने उनी वेष्ट इन्डिजका पहिलो खेलाडी बने ।

यस्तै विश्वमा भने समग्रमा ४ बलमा ४ विकेट लिने उनी चौथो खेलाडी हुन् । यस्तै अकिल होसेनले ४ ओभरमा३० रन खर्चेर ४ विकेट लिए । इंग्ल्यान्डका लागि जेम्स भिन्सले सर्वाधिक ५५ र साम बिलिङ्सले ४१ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो । वेष्ट इन्डिजका लागि कप्तान काइरन पोलार्डले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए । यस्तै रोभम्यान पावेलले अविजित ३५ रन जोडे ।

ब्राण्डन किङले ३४ तथा काएल मेयर्सले ३१ रन बनाए । इंग्ल्यान्डका आदील राशिद र लियाम लिभिङस्टोनले २–२ विकेट लिए । खेलको म्यान अफ दि म्याच र प्लेअर अफ दि सिरिज होल्डर नै भए । उनले सिरिजभर १५ विकेट लिएका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.