अफ्रिकन कपमा चम्किंदै अबुबाकर र एकाम्बी - Crazysaptahik.com

अफ्रिकन कपमा चम्किंदै अबुबाकर र एकाम्बी

मोहम्मद सलाह वा साडियो मानेलाई बिर्सनुस्, किनकि यस अफ्रिका कप अफ नेसन्सको आयोजक क्यामरुनका लागि दुई स्ट्राइकर अग्रपंतिको नेतृत्व गरिरहेका छन् । उनीहरू बिहीबार हुने इजिप्टविरुद्धको सेमिफाइनलमा खेल्दैछन् ।

क्यामरुनका कप्तान भिनसेन्ट अबुबाकर ६ गोल गर्दै प्रतियोगिताको सर्वाधिक गोलकर्ताको रुपमा छन् । यस्तै क्वार्टरफाइनलमा गाम्बियाविरुद्ध ‘इन्डोमिटेबल लायन्स’ का लागि २–० को जितमा दुवै गोल गरेका कार्ल टोको एकाम्बी ५ गोल गर्दै दोस्रो स्थानमा छन् ।

यस अफ्रिका कप अफ नेसन्समा क्यामरुनले गरेका ११ गोल नै यी दुई खेलाडी मिलेर गरेका छन् । गाबोनमा २०१७ मा भएको प्रतियोगितमा उपाधि जित्दा केही समय खेलेका यी दुई ५ वर्षपछि भने मुख्य खेलाडीको रुपमा उदाएका छन् ।

सन् २०१७ मा दुवै खेलाडी लगभग बेन्चबाटै प्रगति गरेका खेलाडी हुन् । यद्यपि, अबुबाकरले फाइनलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै इजिप्टविरुद्ध गोल गरेका थिए ।

‘२०१७ मा मैले थोरै खेलेँ तर पनि खेलका बेला र ट्रेनिङका बेला अरूलाई सहयोग गरेँ,’ क्वार्टरफाइनलमा म्याच विनिङ प्रदर्शनपछि एकाम्बीले त्यो क्षण सम्झिए, ‘अहिले भूमिका फेरिएको छ र अबुबाकरको लागि पनि उस्तै छ, यद्यपि मुख्य कुरा भने सबै टिमसँगै हुनु हो र हामीले राम्रो खेलिरहेका छौँ र जितेका छौँ ।’

क्यामरुनको सफलतालाई दुई फरवार्डमा मात्र सीमित गर्नु अलि अनुचित हुन्छ । कोलिन्स फाईले राइट ब्याकमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् र मिडफिल्डहरु आन्द्रे फ्रांक जाम्बो अङगुइसा र मार्टिन होङ्गलाले पनि उत्कृष्ट खेलिरहेका छन् ।‘उनीहरू फिनिसर हुन् तर उनीहरूको गोल भनेको सबैको मिहिनेतको नतिजा हो,’ प्रशिक्षक टोनी कोनसेइकाओले भने ।

रोल मोडल

अबुबाकर क्यामरुनभरिका लागि स्टार हुन् । यद्यपि, उनी देशको उत्तरमा रहेको उनको घरेलु शहर गारुवामा पक्कै पनि नायक हुन् । ‘अबुबाकरभन्दा मानिसहरूले यो क्षेत्रले उत्कृष्ट खेलाडी जन्माउँछ भनेर विश्वास गर्दैनथे, तर अहिले युवाहरू उनलाई हेरेर भन्छन् कि जे कुरा पनि सम्भव छ,’ क्यामरुनको मुख्य क्लबको रुपमा रहेको गाराव क्लब कोटोन स्पोर्ट्समा युथ एकेडेमी सञ्चालन गरिरहेका डिब्रिल्ला काडाले भने ।

‘उनी क्लबमा रहेका सबै युवा खेलाडीका लागि रोल मोडल हुन्’ अबुबाकर त्यस्तो कामदार वर्गको छिमेकमा हुर्केका थिए, जुन ठाउँलाई उनकै भाइ मिसेल डायरले ‘नराम्रो प्रतिष्ठा भएको ठाउँ’ भनेर वर्णन गरेका थिए । ‘भिन्सेन्ट हामी जस्तो बाहिर जाने, पैसा खर्च गर्ने थिएनन् ।

कोटोनस्पोर्टले तुरुन्तै उनको क्षमता देख्यो,’ उनले भने । कोटोन स्पोर्ट्स उत्तरी क्षेत्रमा रहेको एकमात्र व्यवसायिक क्लब हो, जसलाई उत्तरी क्यामरुनको मुख्य रोजगारदाता, कपास कम्पनी सोडेकोटनका कामदारहरूको बीमा कम्पनीले वित्त आर्थिक सहयोग गरेको छ ।

‘अबुबाकर क्लबका लागि उत्कृष्ट राजदूत हुन्, हाम्रो युवा एकेडेमीको उत्पादन हो । हामी अब विदेशी क्लबहरूसँग साझेदारी विकास गर्न खोजिरहेका छौं,’ कोटनस्पोर्टका अध्यक्ष फर्नान्ड सदाउ भन्छन् । अबुबाकरले १७ वर्षको हुँदा त्यहाँ गोल गर्न थाले । सन् २०१० को विश्वकपका लागि क्यामरुन टोलीमा बोलाउँदा उनी १७ वर्षको टिनएजर नै थिए ।

पूर्व ¥यापर

फ्रान्सेली क्लबमा फुटबल खेलेपछि अबुबाकर पोर्टो गए । भर्खर ३० वर्ष भएका उनी केही समयअघि युरोप छाडेर अल नासेरका लागि खेल्न साउदी अरेबिया गए । तर, उनको पहिलो प्रशिक्षक भने अबुबाकरले युरोपमा फर्केर खेलको अन्त्य गर्ने विश्वास राख्छन् ।

‘उनी प्रतियोगिताको उत्कृष्ट खेलाडीमध्ये एक हुन् । मेरो विचारमा युरोपियन क्लबहरू अब उनको लागि आउनेछन्, र उनले यो योग्य पनि छन्,’ काडाले भने । टोको एकाम्बी, यसै बीचमा, युरोपमा जन्मेका र हुर्केका तर क्यामरुनियन सम्पदा भएका खेलाडीहरूमध्ये एक हुन् । अहिले २९ वर्ष भएका उनी पेरिसमा क्यामरुनियन परिवारमा हुर्केका हुन् ।

किशोरावस्थामा घुँडाको चोटबाट पीडित भएपछि लगभग फुटबल छाडेका जस्तै थिए । उनी खेलमा फर्कनुअघि र फ्रान्सेली लिगहरूमार्फत् आफ्नो बाटोमा काम गर्नु अघि ¥याप समूहको सदस्य थिए ।

स्पेनिस क्लब भियारियलमा खेलपछि, उनी दुई वर्षअघि फ्रेन्च क्लब लियोनमा गएका थिए, जहाँ उनले कहिलेकाहीँ शंका गर्नेहरूलाई जित्न संघर्ष गरेका थिए ।क्यामरुनमा उनलाई कसैले शंका गर्दैनन । टोको एकाम्बी र अबुबाकरको जोडी आफ्नो टिम क्यामरुनलाई छैटौं अफ्रिका कप अफ नेसन्सको उपाधि जिताउन तयार छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.