
क्रेजी संवाददाता
विराटनगर । सञ्चारकर्मीद्वय नेत्र पी अधिकारी र घनश्याम भण्डारी कृष्णप्रसाद सिग्देल युवा पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
प्रेस चौतारी नेपालको २४ औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङद्वारा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ११ हजार १११ राशी सहित पत्रकारद्वयलाई पुरस्कृत गरेका हुन् ।
घनश्याम भण्डारीलाई कृष्णप्रसाद सिग्देल स्मृति युवा पत्रकारिता पुरस्कार–२०७७ र अधिकारीलाई २०७८ बाट सम्मानित गरिएको हो । पूर्वमन्त्री भानुभक्त ढकालले दुबै जनालाई सो पुरस्कार प्रदान गर्दै संविधान र संघीयताको सुनिश्चिातका लागि तोकिएको समयमा स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए । उनले स्थानीय तह जनप्रतिनिधिविहीन हुनु अगाडि नै निर्वाचन हुनुपर्छ भन्दै नेकपा एमाले जनताको सार्वभौमसत्ता कायम राख्न सदैब निर्वाचनको पक्षमा रहेको बताए ।
नेकपा एमालेका केन्द्रीय सदस्य बिनोद ढकालले पेशागत हकहितका लागि संगठित रुपमा कार्य गरी स्वच्छ, मर्यादित र निश्पक्ष रुपमा जनतालाई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
प्रेस चौतरीका जिल्ला अध्यक्ष सुदिप कोइराला, नेकपा एमालेका जिल्ला सचिव रुपेश खतिवडा, चौतारीका केन्द्रीय लेखा संयोजक विक्रम लुईटेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष सञ्जीव खनाल, प्रेस सेन्टर नेपाल जिल्ला अध्यक्ष अर्जुन आचार्य र नेपाल प्रेस युनियनका जिल्ला उपाध्यक्ष कौशल निरौलाले सबल र मर्यादित पत्रकारिताका लागि पत्रकारहरुको पेशागत सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिए ।

