गोलकिपर किरण माल्दिभ्स फर्किए - Crazysaptahik.com

गोलकिपर किरण माल्दिभ्स फर्किए

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरणकुमार लिम्बु व्यावसायिक फुटबल खेल्न बिहीबार माल्दिभ्स गएका छन् । यसै सिजन माल्दिभ्सको माजिया स्पोर्ट्स एण्ड आरसीमा आवद्ध भएका किरण राष्ट्रिय टिमबाट मरिससविरुद्ध मैत्रीपूर्ण खेल खेल्न गत साता नेपाल आएका थिए ।

किरणको कप्तानीमा नेपालले दशरथ रंगशालामा भएको दुवै खेलमा अफ्रिकी देश मरिससलाई समान १–० ले हराएको थियो । किरणलाई एन्फाले बुधबारै बिदाइ गरेको थियो ।

किरण यसै सिजनका लागि माल्दिभ्सको माजियामा अनुबन्ध भएका हुन् । उनले यसअघि टिसी स्पोर्ट्स क्लबबाट पनि त्यहाँको लिग खेलेका थिए । किरणले माजियाबाट यस सिजन च्यारिटी शिल्डको उपाधि जितिसकेका छन् ।

प्रेसिडेन्ट कपको फाइनलमा भने किरण सम्मिलित टिम क्लब भ्यालेन्सियासंग पराजित भएको थियो । मछिन्द्रबाट क्लब फुटबल शुरु गरेका किरणले थ्रीस्टार र मनाङ मर्स्याङदीजस्ता चर्चित क्लबबाट घरेलु फुटबलका विभिन्न प्रतियोगिता खेलिसकेका छन् ।

उनले सन् २०१७ देखि भने विदेशी क्लबबाट फुटबल खेल्दै आएका छन् । राष्ट्रिय टिमबाट सर्वाधिक ८१ खेल खेलेका किरणले २५ क्लिन सिट राखेका छन् ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.