
क्रेजी संवाददाता
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरमा नेकपा (एकीकृत समाजवादी) सम्बद्ध युवा संघ नेपालले अमेरिकी मिलेनिअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आज विरोध प्रदर्शन गरेको छ ।
पार्टी सम्वद्ध युवा संगठनले आयोजना गरेको प्रदर्शनमा राष्ट्रघाती एमसीसी, खरेज गर, देश बेच्न–पाइदैन, सम्पूर्ण राष्ट्रवादी नेपालीहरु–एक हौं लगायतका नारा लगाउँदै पथरी बजार परिक्रममा गरेका थिए । पूर्वपश्चिम मुख्य सडकमा अवस्थित जाँते मोडबाट सुरु भएको ¥याली लोकतान्त्रिक चौक, रत्न चौक, यलम्बर, सुनाखरी चौक, बजारलाइन हुँदै पुनः मुख्य सडकको सोही स्थानमा आएर कोणसभामा परिणत भएको थियो ।
सो कार्यक्रममा नेकपा (एस)को १ नम्बर प्रदेश समिति सदस्य तथा मोरङ जिल्ला उपाध्यक्ष चण्डीप्रसाद राईले एमसीसी राष्ट्रघाती भएको बताए । राईले एमसीसीको कारण देश दुई ध्रुर्बमा विभाजित भएको उल्लेख गर्दै देश बचाउन सचेत नेपाली नागरिकहरुले सो परियोजना खारेज गर्न आन्दोलनमा लाग्नुपर्ने बताए ।
यसैगरी प्रदेश सदस्य टंक भण्डारीले एमसीसी मार्फत् अमेरिका नेपालीको छातीमा बुट बजार्न खोजेको भन्दै नेकपा (एस) प्रतिरोधमा उत्रिने बताए । भण्डारीले एनसेलबाट ७२ अर्ब कर लिन चासो नगर्ने नेताहरु अमेरिकालाई ५५ अर्बमा नेपाली सार्वभौम बेच्न खोजेको आरोप लगाउदै आफूहरुले पूरा हुन नदिने बताए । उनले एमसीसी लगायतको राष्ट्रघाती योजनाको विरुद्धको आन्दोलनको नेतृत्व नेकपा (एस)ले गर्ने र राष्ट्रघात विरुद्ध तीन करोड नेपाली उत्रिनुपर्ने दिन आउने भण्डारीको भनाइ थियो ।

कार्यक्रममा युवा संघ नेपालको केन्द्रीय सदस्य बिकास राई, जोन सुब्बा लगायतले बोलेका थिए । विरोध प्रदर्शन कार्यक्रममा पथरी उद्योग वाणिज्य संघको निवर्तमान अध्यक्ष समेत रहेका पार्टी प्रदेश सदस्य दीपक बस्नेत, नगर अध्यक्ष तुलसी ढकाल लगायत नेता कार्यकर्ता विरोध कार्यक्रममा सहभाभी रहेका थिए ।

