ए डिभिजन लिगमा आज दुई खेल हुँदै - Crazysaptahik.com

ए डिभिजन लिगमा आज दुई खेल हुँदै

शहीद स्मारक ए डिभिजन लिगमा आज ११औं चरणका अन्तिम दुई खेल हुनेछ । मछिन्द्र एफसीले बिहीबार सातदोबाटोलाई हराएर लिग उपाधि पक्का गरेसँगै अब उपाधि होड सकिएको छ । तर शीर्ष तीनमा रहने, मिड टेबलमा रहने र रेलिगेसनबाट जोगिनका लागि अझै क्लबहरू प्रतिस्पर्धामा छन् ।

आज दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबले एपीएफ एफसीसँग र एनआरटीले संकटा क्लबसँग खेल्दैछ । दुवै खेल दिउँसो एक बजे सुरु हुनेछ । उपाधि मछिन्द्रले जितेपछि अब मनाङको लक्ष्य दोस्रो स्थानमै रहेर लिग सक्ने हुनेछ । १० खेलबाट मनाङको २० अंक छ । आजको खेल जिते मनाङले तेस्रो स्थानको आर्मीमाथि ४ अंकको अग्रता बनाउनेछ ।

उता एपीएफ १० खेलबाट ११ अंकसहित ११औं स्थानमा छ । मनाङलाई पराजित गर्न सके एपीएफ रेलिगेसनबाट बच्नेछ । अघिल्लो खेलमा संकटासँग बराबरी खेलेपछि एपीएफका प्रशिक्षक कुमार थापाले रेलिगेसनको चिन्ता अझै रहेको बताएका थिए । अझै पुलिस र मछिन्द्रसँग खेल्न बाँकी छ ।

यस्तै शीर्ष तीनमा रहने लक्ष्य बनाएको संकटाले एन्फा कम्प्लेक्समा एनआरटीसँग खेल्नेछ । संकटा १५ अंकसहित पाँचौ स्थानमा छ भने एक अंक कम रहेको एनआरटी सातौं स्थानमा छ । एनआरटीले पनि शीर्ष चारभित्र रहेर लिग सकाउने लक्ष्य राखेको छ । त्यसैले न्युरोड डर्बी रोमाञ्चक हुने अपेक्षा छ ।

 

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.