च्यासललाई हराउँदै सातदोबाटो तेस्रो स्थानमा - Crazysaptahik.com

च्यासललाई हराउँदै सातदोबाटो तेस्रो स्थानमा

पहिलो पटक शीर्ष डिभिजनमा खेलिरहेको सातदोबाट युथ क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको आफ्नो अन्तिम खेलमा रेलिगेसनमा परिसकेको च्यासल युथ क्लबलाई १–०ले पराजित गरेको छ ।

यो नतिजासँगै नवप्रवेशी सातदोबाटोले ए डिभिजनमा सुखद अन्त्य गरेको छ । एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा सातदोबाटोलाई जित दिलाउन विदेशी खेलाडी अजयी मार्टिन्सले एक मात्र गोल गरे ।

उनले खेलको सातौं मिनेटमा सुदिप गुरुङको लामो पासमा गरेको गोल नै जितमा निर्णायक बन्यो । मेघ राज केसीको प्रशिक्षणमा लिग खेलेको सातदोबाटो पहिलो सिजनमै उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।

सातदोबाटोले यस सिजन ६ जित ३ बराबरी र ४ हारको नतिजाबाट २१ अंक जोड्यो । च्यासललाई हराएपछि सातदोबाटो एनआरटी र मनाङ मर्स्याङ्दीलाई पछि पार्दै अंकतालिकामा तेस्रो स्थानमा उक्लेको छ ।

यदि एनआरटी र मनाङ अन्तिम खेलमा पराजित भए सातदोबाटोले तेस्रो स्थानमा रहेर लिग सकाउनेछ । उता एक खेल अघि नै रेलिगेसनमा परिसकेको च्यासलले हार हारबाट लिग अन्त्य गरेको छ ।

लिगमा च्यासलको यो नवौं हार हो । च्यासलले अब अर्को सिजन बी डिभिजन लिग खेल्नेछ । १३ खेलमा जम्मा १ जित हात पारेको च्यासलले ६ अंकसहित पुछारमा रह्यो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.