देशको राष्ट्रिय राजनीति चुनौतीपूर्ण रहेको छ : प्रदिप ज्ञवाली - Crazysaptahik.com

देशको राष्ट्रिय राजनीति चुनौतीपूर्ण रहेको छ : प्रदिप ज्ञवाली


क्रेजीसंवादाता,

हेटौंडा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशको राष्ट्रिय राजनीति चुनौतीपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय कमिटी बैठकलाई शुक्रबार हेटौंडामा सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले अहिलेको सत्ता सहकार्यलाई टिकाउन एमालेले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

एमालेलाई सरकार र राज्यको केन्द्रबिन्दुमा राख्न आफूहरुले प्रयास गर्ने उहाँले बताउनुभयो । तर सरकार के हुन्छ भन्दा पनि संगठनतिर पनि ध्यान दिनुपर्ने भन्दै उपहासचिव ज्ञवालीले पार्टी बलियो भए सबै कुरा सहज हुने बताउनुभयो । ’

पार्टी बलियो भए सरकार आउँछ जान्छ, त्यस्ता अवसर हामीले पटकपटक पाउँछौं,त्यसकार सरकार के हुन्छ भन्ने कुरामा चिन्तित भएर संगठन सुद‍ृढीकरणको काम ओझेलमा नपरोस्,संगठन बलियो बनाइयो भने जस्तासुकै धक्काहरुलाई पनि चिर्न सक्छौं ।’

उपमहासचिव ज्ञवालीले संगठन राम्रो हुँदै गएको बताउनुभयो । सबैतिर प्रतिपक्षीमा बस्नुपर्ने अवस्थामा पुगेका बेला सबैतिर पार्टीको उपस्थितिले नेता–कार्यकर्तामा उत्साह छाएको भन्दै उहाँले त्यो उत्साह जोगाउनुपर्ने बताउनुभयो ।

देशलाई सही दिशामा अगाडि बढाउन सत्ता साझेदार दलहरु एकढिक्का हुनुको विकल्प नभएको उहाँले बताउनुभयो । देशमा बलियो राजनीतिक स्थिरता कायम गर्नका लागि अहिलेको सरकार ५ वर्ष जानुपर्ने र त्यसका लागि अहिले सत्ता गठबन्धनका रहेका दलहरुबीच विश्वासको वातावरण हुनुपर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले देशको भूराजनीतिक परिस्थिति पेचिलो बनेको पनि बताउनुभयो । उहाँले भन्नुभयो – ’राजनीतिक स्थिरता यसकारणले चाहिएको छ, देश निक्कै अप्ठेरो अवस्थामा छ, देशको भूराजनीतिक परिस्थिति निक्कै पेचिलो बनेको छ, अर्थतन्त्र संकटको डीलमा छ र जनतामा निराश छ,यसलाई रोक्नका लागि एउटा बलियो राजनीतिक स्थिरता चाहिन्छ,त्यो स्थिरता भनेको दलहरुको बीचमा विश्वासको वातावरण बनाउने कुरा हो, यो विश्वासको वातावरणलाई तोड्ने, कमजोर बनाउने, आशंका गर्ने खालका गल्ती कसैले गर्नुहुँदैन ।’

मंसिर ४ को चुनावले पार्टी र पार्टीको आन्तरिक जीवनमा केही प्रश्न उठाएका भन्दै ज्ञवालीले केही कमजोरी पनि देखिएका बताउनुभयो । उहाँले ती कमजोरीलाई सुधारेर पार्टी र संगठनलाई वैचारिक लगायत हरेक हिसावले चुस्तदुरुस्त बनाउनुपर्ने बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले युवा संघलाई सुद‍ृढीकरण गर्न पनि उहाँले आग्रह गर्नुभयो । संगठन कागज र फोटोमा नभएर भूगोलमा देखिनुपर्ने बताउनुभयो । जनसरोकारका विषयमा युवा संघ द‍ृढ भएर उभिनुपर्ने उहाँले बताउनुभयो ।

युवा संघले राजनीतिक भन्दा पनि युवाहरुलाई आत्मनिर्भर हुने,स्वरोजगार बनाउने मुद्दाहरु उठाउनुपर्ने समेत उपमहासचिव ज्ञवालीले बताउनुभयो ।

सम्बन्धित खवर