एभरेस्ट स्कुलको ३९औं वार्षिकोत्सव सम्पन्न - Crazysaptahik.com

एभरेस्ट स्कुलको ३९औं वार्षिकोत्सव सम्पन्न


क्रेजी संवाददाता
पथरी। मोरङको पथरीशनिश्चरे–१ स्थित एभरेस्ट अंग्रेजी स्कुलले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावकलाई सम्मान गर्दै भव्य सांस्कृतिक कार्यक्रमसहित ३९औं वार्षिकोत्सव मनाएको छ ।

विद्यालयबाट एसईई परीक्षामा जीपीए–४ ल्याउने विद्यार्थीका अभिभावक हिमालय न्यौपाने र अम्बिका न्यौपानेलाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरिएको थियो । न्यौपाने परिवारकी दिक्षा न्यौपानेले ९०.३८ प्रतिशत, अदर्श न्यौपानेले जीपीए–४, र अपेक्षा न्यौपानेले जीपीए–३.०९ ल्याएर उत्तीर्ण भएका थिए ।
सम्मानित अभिभावक अम्बिका न्यौपानेले आफ्नो मन्तव्यमा तीनै सन्तानले एसईई र उच्च तहमा उत्कृष्ट अंक ल्याएर रोजगारीमा समेत संलग्न भइसकेको बताइन् । विद्यालयका निर्देशक तथा प्रिन्सिपल रबिन कन्दङ्वाका अनुसार विद्यार्थीको सफलता अभिभावकको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले उनीहरूलाई सम्मान गरिँदै आएको हो ।


कार्यक्रम शिक्षक– अभिभावक संघका अध्यक्ष रुपनारायण भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । नगर प्रमुख मोहन तुम्बापो, शिक्षा विभाग प्रमुख नवीन खुलाल लगायत अतिथिहरूले शुभकामना मन्तव्य राखेका थिए ।

प्रिन्सिपल कन्दङ्वाले विद्यालयले शैक्षिक सफलता मात्र नभई नगर, जिल्ला तथा प्रदेश स्तरका खेलकुद, गीत–संगीत, नृत्य, अभिनय, चित्रकला, हाजिरीजवाफ, स्पेलिङ प्रतियोगिता समेत जित्दै आएको बताए। सह–प्राचार्य उमाकान्त न्यौपानेले विद्यार्थीको प्रतिभा पहिचान गरी सही मार्गदर्शन गर्नुपर्ने आवश्यकता औंल्याए ।
वार्षिकोत्सवको अवसरमा जीवन बराल निर्देशित तथा विद्यार्थीहरूकै अभिनयमा तयार गरिएका ‘झुटो बोल्यो कि पोल्यो’, ‘बच्चा जन्माउने भाँडो’, ‘घोप्टे युग’ र ‘इच्छा र चाहना’ शीर्षकका लघुनाटकहरू मञ्चन गरियो ।

विद्यार्थीहरूले नै सञ्चालन गरेको कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले एकल तथा सामूहिक गीत, नृत्य, वक्तृत्व कला प्रस्तुत गरी दर्शकलाई मनोरञ्जन प्रदान गरे। विभिन्न जातजातिको सांस्कृतिक झल्काउने ¥याम्प शो समेत विशेष आकर्षणको रूपमा प्रस्तुत भएको थियो ।

सम्बन्धित खवर